Logo

१० साउन,वीरगञ्ज । भन्सार ऐनले एकसय भन्दा बढी मूल्यको सामान नेपाल ल्याउँदा अनिवार्य भन्सार काट्नुपर्ने व्यावस्था वीरगन्ज नाकामा चुनौती देखिएको छ । भन्सार कार्यालयले यसको तयारी गरेपनि नेपाल भारतसँगको खुला सीमा र उपभोत्ता मूल्यमा पर्ने फरकले गर्दा ऐन कार्यान्वयनमा चुनौती देखिएको हो ।

यसअघि एक हजार रुपैंयासम्मको सामान भारतको रक्सोलबाट ल्याउँदा अनिवार्य भन्सार काट्नुपर्ने व्यावस्था लागू गरिएको थियो । तर, कार्यान्वयन हुन सकेन । अहिले एकसय रुपैंया भन्दाबढी सामानको भन्सार काट्नुपर्ने व्यावस्था गरेपनि त्यसको कार्यान्वयन भने निकै जटिल नै रहेको छ । यद्यपि वीरगञ्ज भन्सार कार्यालयले यसलाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउने प्रयास भने गरिरहेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले बताउनुभयो ।

उहाँले पहिलेको भन्दा धेरै सुधार भएको बताउनुभयो । नेपालमा भन्दा भारतमा उपभोग्य वस्तुहरु सस्तो हुने भएकोले नेपालबाट दैनिक उपभोग्य वस्तु किन्नका लागि भारतको रक्सोल जानेहरु धेरै हुन्छन् । घरायसी प्रयोजनको लागि ल्याउने सामानको पनि भन्सार काट्नुपर्ने व्यावस्थाले उपभोत्ताहरुलाई समस्या हुने आम बुझाई छ । त्यसैले पनि भन्सार कार्यालयले यसलाई कडाई गर्नुभन्दा व्यावरतः कार्यान्वयनमा ल्याउने प्रयास गरिरहेको प्रमुख भन्सार प्रशासक पन्थीको भनाई छ ।

उहाँले भन्नुभयो,‘ऐन मै व्यावस्था भएको कुरा हो । व्यवस्थित गर्न खोजी रहेका छौं । पहिले भन्दा बढेको छ । यो हामीले साउनदेखि एउटा पनि नछोड्ने भनेर भनेको हो । यसपटकदेखि राम्रै भएको छ । आन्तरिक तयारी हो । हामीले गर्नैपर्ने काम हो । यहाँ शतप्रतिशत गरेको भएपनि गुनासो आउछ । त्यसलाई पनि हामीले ध्यान दिएर आउने दिनमा कडाई गर्दै जानेछौं ।’

यहाँका व्यापारीहरुले एकसय रुपैंया भन्दा बढीको सामान ल्याउँदा भन्सार काट्नुपर्ने व्यावस्थाले उपभोत्तालाई समस्या नहोस भन्ने मात्रै चाहेको बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव प्रेमचन्द गोयलले भन्सारको ऐनले व्यावस्था भए अनुसार गर्नु राम्रो भएपनि त्यसले उपभोत्ताहरुलाई चाहिँ दुख हुन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भन्सार काट्नुपर्ने कुरामा कुनै समस्या छैन । राम्रो हो । अवैध व्यापार रोक्नुपर्छ । तर, मुख्य नाकाबाट तस्करहरु जादैनन् । यहाँबाट जाने अथवा सामान ल्याउने भनेको घरायसी उपभोग गर्नका लागि हो । सीमापारी रोटीबेटीको समेत सम्बन्ध छ । त्यसैले आफन्तको जाने आउने गर्दा केही न केही सामान लिएर आउने गर्छन उनीहरुको लागि यसले असहज नहोस भन्ने मात्रै हो ।’


सम्बन्धित समाचार