Logo

१० भदौ,काठमाडौं । सर्वोच्च अदालतले भाद्र ११ गते ९भोलि० देखि ‘पेशी तारेख अटोमेशन स्टिम’ शुरु गर्ने भएको छ ।

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न पनि आफूले भोलिदेखि सो सिस्टम शुरु गर्न लागेको जानकारी दिनुभएको हो । आईतवार आफूलाई बधाई दिन कार्यकक्षमा पुगेका संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आवद्ध पत्रकारहरुसँगको सामूहिक भेटमा उहाँले अदालत भित्र हुने अनियमितता हुनै नदिन पनि आफूले प्रविधिको प्रयोगमा जोड दिएको स्पष्ट पार्नुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरुको हस्तक्षेप हुन नदिने पनि आफूले सो अटोमेशन सिष्टमको शुरुवात गर्नुपरेको बताउनु भयो । उहाँले प्रविधिकै माध्यामबाट न्यायालयमाथि हुने जनगुनासो सम्बोधन गर्न आफूले चाहेको बताउनु भयो । सर्वोच्च अदालत पछि काठमाडौं जिल्ला अदालतमा तत्काल सो सिस्टम लागू गर्ने प्रधानन्यायाधीश श्रेष्ठको योजना छ । उहाँले न्याय सेवामा हुने अनियमितताको भने न्याय परिषद्बाट छानबिन हुने भएकाले त्यसमा चिन्ता गरिरहनु नपर्ने बताउनु भयो ।

प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया आफूले शुरु गरिसकेको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै आउने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले न्यायाधीश नियुक्ती नगरी नहुने भएकाले आफू त्यसमा लागि परेको बताउनु भयो । मुद्दाको बोझ धेरै भएको तर दरबन्दी अनुसारको न्यायाधीशहरु समेत नहुँदा अप्ठ्यारो भइरहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाई थियो ।
प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयप्रति जनआस्था जगाउने गरी सञ्चार संप्रेषण गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।


सम्बन्धित समाचार