Logo

२५ भदौ,वीरगञ्ज । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक क्षेत्रलाई चलायमान बनाउन भन्दै सन् २०२४ लाई ‘भरतपुर भ्रमण वर्ष’का रुपमा मनाउने घोषणा गरेको छ ।

भ्रमण वर्षको शुभारम्भ हुन तीन महिनाको अवधि बाँकी रहेकाले तयारी पनि तीव्र गतिमा भैरहेको छ । भ्रमण वर्षको अवसरमा भरतपुर १ आँपटारीमा रहेको दियालो बंगला दरवार खुलाउने र ठोरीस्थित छोटी भन्सार नाका सन्चालमा ल्याउने प्रयास महानगरको छ ।

नारायणी नदी र राप्ती नदीको काखमा रहेको महानगरले भरतपुरको विकास र समृद्धिका लागि भैरहेका पूर्वाधार निर्माणलाई समेत देखाउन् अवसरका रुपमा भ्रमण वर्षलाई लिएको छ ।

त्यसैले भरतपुर नगर क्षेत्रका ३० वटा पर्यटकीय गन्तव्य र ७ वटा प्रमुख गन्तव्यहरुलाई प्राथमिकतामा राखेर प्रचार प्रसार, पूर्वाधार निर्माण र प्रवर्द्धनका कामहरू अगाडि बढाएको छ ।

महानगरका पर्यटनविज्ञ विश्व सुवेदीका अनुसार भ्रमण वर्षमा कम्तीमा २ लाख विदेशी पर्यटक भरतपुर ल्याउने लक्ष्य महानगरको छ । त्यसका लागि वर्षभरी गर्ने क्रियाकलापहरुको क्यालेण्डर नै प्रकाशन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

भरतपुर महानगरले भारतको उत्तरी क्षेत्रबाट बढीभन्दा बढी पर्यटकलाई भरतपुरसम्म आउन सहज होस् भनेर पर्साको ठोरीस्थित छोटी भन्सार नाका सञ्चालन गर्न अनुरोध गर्दै भन्सार विभागमा पत्राचारसमेत गरेको नगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार