Logo

२६ भदौ, वीरगञ्ज । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौं बाहिरबाट एकजनालाई प्रहरीले करिव १ किलो सुन सहित मंगलवार पक्राउ गरेको छ ।

काभ्रे खानीखोला गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ बस्ने २८ वर्षीय बाबुलाल दोङले मलद्वारमा लुकाई ल्याएको सुन प्रहरीले पक्राउ गरेपछि फेरि विमानस्थलमा हंगमा मच्चिएको छ ।

विमानस्थल भन्सार छलि लुकाई छिपाई ल्याएको ९ सय ६० ग्राम तौलको अवैध सुन सहित दोङलाई पक्राउ परेपछि उक्त अवैध कारोवारमा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न ठाउँबाट अन्य २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रे रोशी गाउँपालिका–३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत लामा र काभ्रे महाभारत गाउँपालिका–३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेका छन् ।

हिमालयन एयरलाईन्सबाट सोमबार बिहान दुबईहुदै नेपाल आएका बाबुलालले भन्सार छलि अवैध सुन लुकाई छिपाई ल्याएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सार्वजनिक सडक पेटीमा हिँड्दै गरेका बाबुलाललाई मलद्वारमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको धातुसहित तत्काल फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौका अनुसार अनुसन्धानको क्रममा जगत लामा र दोर्जे स्यान्तानलाई समेत काठमाडौं महानगरपालिका–१५ ढल्कुस्थित बिगमार्टको पार्किङबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले प्रयोग गरेको बागमती प्रदेश ०१–२७ च ९९६० नम्बरको गाडी र बागमती प्रदेश ०२–०३० प ८५१७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुको ब्रासलेट २ थान र बेरुवा औंठी १ थान गरी जम्मा ८५ ग्रामसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–१ बस्ने २१ वर्षीय अनिश गुरुङ, २१ वर्षीय रोशन विश्वकर्मा, काठमाडौं महानगरपालिका–८ बस्ने ३० वर्षीय शनि देउला र मोरङ पथरी शनिश्चरे नगरपालिका–१ बस्ने ३८ वर्षीय कमल गुरुङ रहेका छन् ।

हिमालय एयरको उडानद्वारा दोहाबाट काठमाडौं आएका अनिश र रोशनलाई उक्त परिमाणको धातु अवैध रुपमा लुकाई छिपाई भन्सार छलि गर्न लगाई शनि देउला र कमल गुरुङले संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उक्त घटनामा छानविन भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार