Logo

१२ असोज,वीरगञ्ज । देशको अर्थतन्त्र सवलीकरण र राजस्व चुहावट नियन्त्रणका लागि राजस्व अनुसन्धान विभागले सरोकारवालाहरुसँग छलफल गरेको छ । वीरगन्जको होटल दियालोमा आयोजना गरेको ‘सवल अर्थतन्त्र निर्माण, राजस्व चुहावट नियन्त्रण’ विषयमा वीरगन्जमा निजीक्षेत्र, भन्सार कार्यालय, सुरक्षा निकायहरुसँग छलफल भएको हो ।

छलफलका क्रममा राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले देशलाई संकट पर्ने बेलामा नै बिचौलियाहरुले अर्थतन्त्र ध्वस्त पार्ने प्रवृत्ति देखिएकोले यसको पहिचान गरी राजस्व चुहावट नियन्त्रण गर्ने र अर्थतन्त्र सवल बनाउनका लागि सरोकारवालाहरुसँग छलफल गरिएको बताउनुभयो ।

उहाँले देशको अर्थतन्त्र संक्रमणकालिन अवस्था रहेको र राज्यले राजस्व चुहावट नियन्त्रणका लागि गर्नुपर्ने आवश्यक व्यावस्थापनका लागि निजीक्षेत्रको धारणा र सुझावहरु लिन वीरगन्जमा छलफलको आयोजना गरिएको बताउनुभयो । छलफलका क्रममा वीरगन्जका निजीक्षेत्रले राज्यको आर्थिक नीति र राजस्व नीतिमा सुधार नभएसम्म देशको अर्थतन्त्रमा कुनै सुधारको संकेत नदेखिएको बताए ।

उनीहरुले व्यापारीलाई धाक, धम्कीले राजस्वय संकलन नहुने भन्दै सरकार र नीजिक्षेत्रबीच विश्वासको वातावरण बनाउन आवश्यक रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले अहिले उद्योगी व्यावसायीहरु बजारमा सामान बिक्रीमा भन्दा पनि उधारो रकम कसरी उठाउने भन्ने चिन्तामा रहेको बताउदै व्यापारको संरक्षण नभए कसरी व्यावसाय गर्ने भन्ने प्रश्न गर्नुभयो ।

राजस्व अनुसन्धानको नाममा व्यापारिक फर्महरुमा छापामारी गरेर भन्दा पनि राजस्व संकलन गर्ने नाका र कार्यालयहरुले लक्ष्य भन्दा बढी राजस्व उठाउन किन सकेन भन्नेतर्फ अनुसन्धान राज्यको हुनुपर्ने बताउनुभयो । महासंघका पूर्व अध्यक्ष गणेश लाठले न्यून विजकीकरण बजारमा मूल्य वृद्धि गर्ने मुख्य कारण रहेको बताउदै भन्सार नाका जस्तै स्क्यानर राजमार्गमा पनि राख्नुपर्ने सुझाव दिनुभयो ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले नेपाल राष्ट्र बैंकले चालू पँुजीकर्जा निर्देशिका जारी गरेको दिनदेखि नै देशको व्यापारमा सन्तुलन विग्रिएको र त्यसलाई तत्कालका लागि स्थगित गर्नुपर्ने निजीक्षेत्रको माग नसुन्दा अहिले यस्तो अवस्था आएको बताउनुभयो ।

संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले देशको अर्थतन्त्रको बारेमा राज्य जानकार रहेपनि व्यावसायीहरुलाई पेल्न खोज्ने प्रवृत्तिले अहिले निजीक्षेत्रको उर्जा मरेको बताउनुभयो । त्यसअघि भन्सार विभागका महानिर्देशक ढुंगानले बारा र पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुसँग छलफल गर्नुभएको थियो ।

 


सम्बन्धित समाचार