Logo

तस्बिर – विशाल पटेल

१३ असोज,वीरगञ्ज । हेटौडा र चितवन लगायत देशैभर श्रृंखलावद्ध रुपले भएको चिकित्सकमाथिको कुटपिटको घटनामा सरकारले कारवाही प्रक्रिया अघि बढाईसकेको स्वास्थ्य तथा जनसङख्या मन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालको स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिटमा सँलग्नलाई पक्राउ गरिएको उनको भनाइ छ । त्यस्तै पोखराको मणिपाल शिक्षण अस्पतालमा भएको घटनामा ईन्सपेक्टरलाई निलम्बन गरिएको मन्त्री बस्नेतले बताए । आफु स्वास्थ्य मन्त्री, निर्वाचित साँसद राजनीतिक कार्यकर्ता भन्दा पनि एउटा सामाजिक कार्यकर्ता भएकाले पदमा नभएपनि काम गर्दै आएको व्यक्ति भएको मन्त्री बस्नेतको जिकिर थियो ।

देशमा भएको स्वास्थ्य क्षेत्रको महँगाईका कारण घरबार बेचेर पनि उपचार खर्च तिर्न नसकेर अस्पतालको बरण्डाबाट सेवाग्राही फर्केर आउनु पर्ने अवस्था रहेको उनले जनाए । स्वास्थ्य मन्त्रालयको अवस्था नै अति फोहोर गन्हाउने अवस्था रहेकोले आफुले त्यहाँ सरसफाई गरेको उनको भनाई थियो ।

मधेसका आठ जिल्लाको स्वास्थ्य क्षेत्रको बिकासको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमै मृगौला प्रत्यारोपण (किड्नी ट्रान्सप्लान्ट) गर्ने व्यवस्था छिटैै सञ्चालन गर्ने मन्त्री बस्नेतले प्रतिवद्धता जनाए । उनले किडनी ट्रान्सप्लान्ट गर्ने व्यवस्थाको लागि दाता आएकोमा सबैभन्दा पहिले नारायणी अस्पतालमा ल्याउने बताए ।

स्वास्थ्य क्षेत्रको ४० प्रतिशत बजेट कटौती गरेर चार दशमलव ८ प्रतिशत मात्रै बजेट मन्त्रालयमा भएकाले आफुले अनुनय बिनय गरेर बजेट थप्ने कार्य गरेको मन्त्री बस्नेतले जनाए । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न र उच्छृँखल गतिविधि रोक्न चिकित्सक, नर्सिङ, पारामेडिक्सको दरबन्दी बढाउनुपर्ने आवश्यकता रहेको उनले औल्याए ।

चिकित्सा शिक्षा ऐनले दुर्गम क्षेत्रको केहि समस्या सुधार गरेको भएपनि चिकित्सा शिक्षा ऐन सँशोधन गर्नुपर्ने आवश्यकता रहेको र आफ्नो कार्यकाल रहेसम्म चिकित्सा शिक्षा ऐन सुधार गरेर जाने मन्त्री बस्नेतले जानकारी दिए ।

नेताहरुको काम भाषण गर्ने मात्र नभई जनतालाई प्रत्यक्ष लाभ दिलाउन सक्ने भन्दै मन्त्री बस्नेतले काम गर्ने नेताको खोजीमा जनता रहेको बताए । सयदिनमा एक सय वटा काम गर्ने अठोट अनुसार मन्त्रालयमा आएपनि आफुले एक सय ७ वटा काम गरेको उनले दाबी गरे ।

मन्त्री बनेर जाँदा हाकिमहरुसँग मोलमोलाई हुने गरेको भएपनि आफुले मन्त्री भएको नियुक्ति, सरुवा बढुवाको बिषयमा कुनै मोलमोलाई नगरेको उनले दाबी गरे ।


सम्बन्धित समाचार