२३ असोज,वीरगञ्ज । विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा वीरगञ्जमा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । दिवसका अवसरमा वीरगञ्ज महानगरपालिका र वीरगञ्ज नसिंङ्ग क्याम्पसको सयुक्त आयोजनामा घण्टाघर चोकमा मानसिक स्वास्थ्य सम्बन्धमा तयार पारिएको सडक नाटक सहित सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
पछिल्लो समय मानसिक स्वास्थ्यका बिरामीहरु बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अनिल कुमार यादवले मानसिक स्वास्थ्यका बारेमा जनचेतना अभिबृद्धी गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले मानसिक स्वास्थ्यलाई नजरअन्दाज नगर्न आग्रह गर्दै जति सक्दो आफूलाई व्यस्त राख्नुपर्ने सुझाव दिनुभयो ।
वीरगञ्ज नर्सिङ् क्याम्पसकी प्रमुख डा. कल्पना पौडेलले मानसिक स्वास्थ्यका बारेमा सचेतना फैलाउने अभिप्रायका साथ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । हरेक व्यक्ति मानसिक रुपमा स्वस्थ हुनुपर्ने आवश्यक्ता औँल्याउँदै उहाँले सामाजिक सञ्जाल, बेरोजगारी, प्रेम, कुलत लगायतका कारण मानसिक स्वास्थ्य बिग्रिन सक्ने तर्क गर्नुभयो ।
‘मानसिक स्वास्थ्य : सबैको अधिकार’ भन्ने नारासहित मनाईएको विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा वीरगञ्ज नर्सिङ् क्याम्पसमा अध्ययनरत छात्रा–छात्रहरुले सन्देशमुलक नाटक पनि प्रस्तुत गरेका थिए ।

















