Logo

२६ असोज,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले हिन्दु धर्मालम्बीहरुको महान् पर्व दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर हुनसक्ने घटना रोक्न विशेष सुरक्षा रणनीति बनाएको छ ।

कार्यालयले राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुखहरू, उद्योगी, व्यवसायीहरू तथा सरोकारवाला निकायहरूसँगको छलफलबाट चाडपर्व लक्षित सुरक्षा योजना २०८० सार्वजनिक गरेको हो । अहिलेको परिस्थितिलाई आँकलन गरेर चाडपर्व केन्द्रित सुरक्षा व्यवस्था कडा बनाएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

उहाँले पर्सामा समेत समय समयमा धार्मिक द्वन्द्व हुन खोजेको भएपनि तत्काल सरोकारवालाहरूलाई राखेर समन्वयमा निर्णय गर्ने गरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार एकले अर्काको धार्मिक आस्थामाथि कुनै पनि कारणले आँच आउने कार्य गर्न नदिन निर्देशन दिइएको छ ।

यसअघि नेपालगन्ज, धरान, सर्लाही लगायत छिमेकी जिल्लाहरूमा भएका घटनालाई लिएर पर्सा जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइएको हो । हिन्दुहरूको मठमन्दिरलाई सुरक्षा गर्ने यात्रुहरूलाई चाडपर्वहरू मनाउन घरसम्म जान सहज वातावरणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई स्टेसनहरूको निगरानी बढाउन स्थानीय प्रशासनले निर्देशन दिएको छ ।

चाडपर्वमा अधिक मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेलमेट प्रयोग नगर्ने, रातीको समयमा मादक पदार्थ सेवन गरेर हिँड्ने तथा सीमावर्ती जिल्ला बारा पर्सामा भारतीय सवारी साधनको आवतजावत समेत बाक्लो हुने गर्दछ । प्रजिअ रेग्मीले भारतबाट नेपालमा चाडपर्व मनाउन आउने नागरिकहरूको सुरक्षाका लागि सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको बताउनुभयो ।


सम्बन्धित समाचार