Logo

२८ मंसिर,वीरगञ्ज । मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले अदालतबाट सफाइ पाएका छन्।

अदालतले विकको हत्याको आरोपमा मुद्दा दायर गरिएका २८ जनामध्ये सांसद कोइरीसहित पवन कापरले पनि सफाइ पाएका छन्। जिल्ला अदालत महोतरीका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उनीहरुलाई बिहीबार सफाइ दिएको हो।

न्यायाधीश भट्टराईको इजलासले  कोइरी र कापरलाई सफाइ दिएको प्रदेश सांसद शर्मासहित प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यानसम्बन्धी कसुरमा दोषी ठहर गर्दै जन्मकैद सजाय सुनाएको हो।

कोइरी र कापरलाई सफाइ दिएको र हाजिर भएका ७ जनालाई जन्मकैदको फैसला भएको अदालतका सूचना अधिकारी महेन्द्र झाले जानकारी दिए। बाँकी १९ जना भने अझै फरार रहेका छन्।

०७२ भदौ २५ गते विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। सोही वर्ष फागुन २७ गते जिल्ला अदालत महोतरीमा कोइरीसहित २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।

हेटौँडाबाट राष्ट्रसंघीय मिसनका लागि आवश्यक परीक्षा दिएर ड्युटीको लागि महोत्तरी आएका विकमाथि महोत्तरीमा आन्दोलनकारीले आक्रमण गरेका थिए। घाइते विकको जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि जनकपुर ल्याउँदै गर्दा महोत्तरीको साविक अनैठा गाविसमा आन्दोलनकारीले एम्बुलेन्सबाट निकालेर कुटपिट गरेर हत्या गरेका थिए।

०७४ साल मंसिर ४ को निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट नेकपा एमालेबाट सांसदमा चुनाव जितेका कोइरी ०७२ सालको मधेस आन्दोलनका बेलामा मधेसवादी दलमा आबद्ध थिए।


सम्बन्धित समाचार