Logo

पर्सा, पुष १ । पर्साको पोखरिया नगरपालिकामा दलित कर्मचारीमाथिको बलात्कारको प्रयासको घटनामा मुद्दा दर्ता भएको छ ।

पीडित महिला र उनको श्रीमानले जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय पोखरियाले जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरेको हो ।

पोखरिया प्रहरीले सरसरफाई शाखाका कर्मचारी नाइके रामबली हजरामाथि जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरेको प्रहरी निरीक्षक मोहनविक्रम केसीले जनाए ।

उनका अनुसार पीडित महिलाबाट जाहेरी प्राप्त भएलगत्तै मुद्दा दर्ता गरेर पीडिक हजरालाई खोज्न टोली खटाइसकेको छ ।

प्रहरीका अनुसार मुद्दा दर्ता भएपछि पीडक फरार भएका छन् ।

कसरी भएको थियो घटना ?
घटनाको दिन हो, यही शुक्रबार । यो दिन राती सरसरफाई शाखाका कर्मचारी हजराले ती महिलालाई फोन गरे ।

पीडितको आफन्तहरुले दिएको जानकारी अनुसार ती पीडकले फोन गर्दै महिलालाई भने,‘अहिले कार्यालयमा आउनु, केही काम गर्नुपर्ने छ । जसरी पनि आउनु नत्रभने श्रीमानलाई कामबाट निकालीदिन्छु, यस्तै धम्की दिँदै बोलाए ।’

आफ्नो शाखाको जिम्मेवार प्राप्त व्यक्तिले बोलाएपछि पीडित महिला गएको उनको आफन्तले बताइन् । उनका अनुसार नगरपालिका पीडित महिला गएपछि सुरुमा तलको तल्लामा सरसफाई गर्न लगाएका थिए ।

उनी भन्छिन्,‘त्यसपछि माथिल्लो तल्लामा लगे, अनि त्यहाँ लगेर कोठाको चुकुल लगाए । त्यसपछि जबरजस्तीकरणीको प्रयासगरे, हल्ला भएपछि हाम फाल्दै त्यहाँबाट भागे ।’ यो घटना राती साढे ९ बजेको हो,’ उनी भनिन् ।

यहीबीच पोखरिया नगरपालिकाले पनि घटना भएपछि यसको वास्तविकताको छानविन गर्ने बताएको छ । आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै नगरपालिकाले छानविन समिति गठन गरेर वास्तविक कुरा बाहिर ल्याउनु जनाएको छ । नगरपालिकाले पत्रकार सम्मेलनमा भनेको छ– जोसुकै दोषी देखिए हामी त्यसलाई कानुनी दायरामा ल्याउने छौं ।


सम्बन्धित समाचार