Logo

८ पुस,वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश कमिटि भंग भएको छ । मधेश प्रदेश कमिटिको यही ६ गते बसेको बैठकको निर्णयले समिति भंग गरेको हो ।

करिब २ वर्ष अघि रामबाबु यादवको नेतृत्वमा मधेश प्रदेश समिति गठन भएको थियो । गठन भएको २ वर्षमै केन्द्रीय कमिटिको परिपत्र अनुसार २ दिन अगाडि मात्रै मधेश प्रदेश समिति भंग भएको गरिएको प्रदेश समितिका उपाध्यक्ष सुशिल यादवले बताए ।

उनका अनुसार पार्टीको केन्द्रीय समितिबाट बैशाखमा आएको परिपत्रअनुसार मधेश प्रदेश समिति सबैको निर्णयबाट पुर्नगठन गरिएको हो ।
प्रदेश अध्यक्ष रामबाबु यादवको नेतृत्वको करिब ७७ सदस्यीय समितिलाई भंग गर्दै नयाँ तदर्थ समिति गठन गर्न पार्टी अध्यक्ष उपेन्द्र यादवसहित तीन जनालाई सर्वसम्मत निर्णय गर्दै जिम्मा दिइएको उपाध्यक्ष सुशिल यादव बताउँछन् ।

प्रदेश कार्यसमितिमा अहिले १५ जना पदाधिकारीसहित ७७ जना छन् । यद्यपी, नयाँ विधानमा भने यसमा कटौती भएको छ । अर्थात् नयाँ विधान अनुसार मधेश प्रदेशमा ९ जना पदाधिकारी राख्ने व्यवस्था छ ।

योसंगै अब कुल ५१ सदस्यीय कार्यसमिति बनाउने नयाँ विधानमा व्यवस्था छ । यही विधानको हवाला दिँदै अहिले भंग गरिएको हो ।

किन पुर्नगठन ?

मधेश प्रदेश समिति भंग गर्दै नयाँ गठनको जिम्मेवारी पूर्णरुपमा पार्टी अध्यक्ष उपेन्द्र यादवसहितकालाई दिइएको छ ।
विधान बमोजिम नयाँ समिति गठन गर्नुपर्ने हुन्छ । तर अहिलेको समिति बढी संख्याको कार्यसमिति थियो ।

जसपा मधेश प्रदेशका एक नेता भन्छन्, ‘त्यहाँबाट कसैलाई हटाउँदा पार्टीमा असर पथ्र्यो, मलाई मात्रै हटायो भने नकारात्मक असर पर्न जान्थ्यो । त्यसकारण सबैलाई पदमुक्त गरेर नयाँ गठन गर्न लागिएको हो । यसमा अहिलेको समितिबाट पर्न सक्छन्, नपर्न पनि सक्छन् । तर यसरी छनौट गर्दा आन्तरीक विवाद भने हुँदैन् ।’

कारण–नयाँ विधान अनुसार समिति बनाउनै पर्ने प्रावधान छ । मूलतः यहीकारणले अहिलेको समिति विघटन गरिएको ती नेताको भनाइ छ । अर्को कारणमा भने कुनैपनि पदाधिकारीले आफ्नो पदबाट राजीनामा दिन नचाहेका कारणले पनि समिति भंग गरिएको बताइन्छ ।

अब कसरी हुन्छ छनौट ?

दुई दिन अगाडि भंग भएको मधेश प्रदेश समितिले तीन जनालाई नयाँ कार्यसमिति चयन गर्ने जिम्मेदारी दिएको छ ।
मधेश प्रदेश समितिको बैठकले नै पार्टी अध्यक्ष उपेन्द्र यादवसहित तीन जनालाई प्रदेश समितिको तदर्थ समिति चयन गर्ने अधिकार दिएको हो ।

प्रदेश समितिले अध्यक्ष यादवसहित मधेश प्रदेशका पार्टी इन्चार्ज मृगेन्द्र कुमार सिंह र सहइन्चार्ज आत्माराम साहलाई नयाँ समिति चयन गर्ने अधिकार दिएको बताइएको छ ।

जसपा स्रोतका अनुसार अब यी तीन नेताहरुले नै चाडै मधेश प्रदेशमा नयाँ कार्यसमिति चयन गर्नेछन् । स्रोत भन्छ, ‘त्यो भनेको करिब २०/२५ दिन लाग्न जान्छ, किनभने अहिले सबैजना अर्को काममा व्यस्त छन् । त्यसकारण ती काम सकेपछि मात्रै मधेश प्रदेशले नयाँ कार्यसमिति पाउँनेछ ।’


सम्बन्धित समाचार