Logo

८ पुस,वीरगञ्ज । प्रो क्लव च्याम्पियनसिप टी–२० क्रिकेटमा आज पनि दुई खेल सम्पन्न भएका छन् । वीरगञ्जमा जारी प्रतियोगितामा आज नेपाल पुलिस र सशस्त्र प्रहरी तथा नेपाल आर्मी र पर्सा इलेभेनबिच खेल भएको हो ।

आजको पहिलो खेलमा नेपाल पुलिसले सशस्त्र प्रहरीलाई हराएको छ । सशस्त्र प्रहरीमाथि नेपाल प्रहरीले ८९ रन अन्तरले जित हात पारेको हो ।

नारायणी क्रिकेट रंगशालामा पहिले ब्याटिङ गरेको नेपाल पुलिसले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङका लागि उत्रिएको सशस्त्रले १३ ओभर २ बलमै पूरै विकेट गुमाएर ५१ रनमै सिमित भयो ।

यस्तै आजै भएको दोस्रो खेलमा नेपाल आर्मी बिजयी भएको छ । नेपाल आर्मीले पर्सा इलेभेनलाई ६६ रनले हराएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले पूरै ओभर खेलेर ७ विकेटको क्षतीमा १ सय ५९ रन बनाएको थियो ।

लक्ष्य प्राप्तिका लागि जवाफी ब्याटिङमा उत्रिएको पर्सा इलेभेन पूरै ओभर खेलेर ९ विकेटको क्षतीमा ९३ रनमै सिमित भएको थियो ।

प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोइडाको सहभागिता छ ।

सिंगल राउन्ड रोविनको खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

लिगमा पहिलो र चौथो हुनेबीच पहिलो सेमिफाइनल हुनेछ र दोस्रो र तेस्रो हुने टोलीबीच दोस्रो सेमिफाइनलमा हुनेछ ।

 


सम्बन्धित समाचार