Logo

८ पुस,बारा । बाराको गढीमाई साझेदारी वनमा झाडी सफाइ भईरहेको छ । वनमा साल प्रजातिका रुखहरु पुनः उत्पादन गर्न ३४ हेक्टर क्षेत्रफलमा सरसफाई भईरहेको डिभिजन वन कार्यालय बाराका सहायक वन अधिकृत ललन राउतले जानकारी दिनुभयो ।

गढीमाई साझेदारी वन करिब १ हजार हेक्टरमा फैलिएको छ । सो साझेदारी वनलाई ८३ वटा प्लटमा छुट्याएर पशु चौपायाको चरिचरन रोक्न घेरबार समेत गरिएको छ ।

झाडी सफाइ गर्नुपूर्व वन क्षेत्रभित्र उमेर पुगेका उत्पादन दिन नसक्ने बुढा सालका रुखहरु काटिन्छ र उत्पादन दिनसक्ने जवान रुखमात्रै राखिन्छ ।

उपभोक्ताहरुलाई काठ दाउरा बिक्री गरेबापत वन समितिका निवर्तमान अध्यक्ष गणेजी साहको कार्यकालमा साझेदारी वनको खातामा करिब २ करोड बचत रकम थियो ।

सोही रकमबाट नयाँ आएको कार्यसमितिले झाडी सफाइको काम गरेको हो ।करिब ३४ हेक्टरलाई ३ वटा प्लटमा विभाजन गरेर दैनिक ज्यालादारीमा २४ जना मजदुरलाई खटाएर झाडी सफाइ गर्ने काम भईरहेको सहायक बन अधिकृत राउतले जानकारी दिए ।

वन समितिले झाडी सफाइमा यस वर्ष १२ लाख ८७ हजार रकम छुट्याएको छ । डिभिजन वन प्रमुख विनोद सिंह साल प्रजातिको रुख मूल्यवान भएकाले यसको संरक्षणमा चासो नदेखाए केही वर्षमा लोप भएर जाने बताउँछन् ।

मधेस प्रदेशका ८ वटा जिल्लामध्ये साल प्रजातिको जङ्गल बारा र रौतहटको केही भूभागमा सीमित छ । बारामा ४ वटा साझेदारी, ४१ वटा सामुदायिक, एउटा निजी वन र नेपाल सरकारद्वारा व्यवस्थित गरिएको वन क्षेत्र छ ।


सम्बन्धित समाचार