Logo

९ पुस,वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ । पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ थरकटीका बाबुलाल उरावँ धाँगडका ३२ बर्षीय छोरा मनोज उरावँ धाँगडको बाघको आक्रमणबाट ज्यान गएको हो ।

हिजो साँझपख जंगल छेऊमा शौच गर्न गएका मनोजलाई बाघले घिसारेर लगेको थियो । मनोज बेपत्ता भएपछि खोजी गर्ने क्रममा उनले लगाएको चप्पल भेटिएको स्थानमा बाघको पञ्जाको डोव पनि भेटिएकोले बाघले नै मनोजलाई लगेको यकिन भएको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष विजय गैरेले बताए।

हिजो साँझ बेपत्ता भएका मनोजलाई खोजी गर्दै जाँदा आज बिहान लगि मारेको र मारेको ठाउमा मृतकको मोबाईल भेटिएको छ । साथै दाहिने घुडा देखि तलको एउटा खुट्टा बाकी रहेको, गर्धनको छाला नभएको मासु र हड्डी, सोही छेउमा छाला नभएको खप्पर भेटिएको छ ।

बाटो भरी रगत लतपतिएको र टाउको र खुट्टा भएको घट्ना स्थलदेखी अन्दाजी १० मिटर उतर पूर्वमा मृतकको ज्यकेट पनि फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो । घटनाको आवश्यक मुचुल्का तयार गरी पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाउने तयारी भईरहेको प्रहरी निरीक्षक केशरीले बताए ।

पर्साको जंगल छेऊको वस्तीमा वन्यजन्तुले बालीनाली खाएर नष्ट गर्नुका साथै मान्छेको ज्यान समेत लिने गरेको छ । मनोजका बाबु बाबुलाल महतो उरावँले दुई विगाह क्षेत्रफलमा लगाएको धानबाली पनि यसपटक जंगली जनावरले खाईदिएपछि भित्र्याउन पाएनन् ।

बाली भित्र्याउन नपाएको पीडामा रहनुभएका बाबुलाललाई बाघले छोरा पनि खाईदिएपछि झन पीडा थपिएको छ ।

वडाध्यक्ष गैरेका अनुसार बाघ अहिले जङगल पसेको छ । बाघ नियन्त्रणमा नआएकाले सावधानी अपनाउन उहाँको आग्रह छ । रातको समयमा घर बाहिर ननिस्कन, जङगल आसपास नजान   तथा घासँ दाउरा लिन जङगल जाँदा सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको हो ।


सम्बन्धित समाचार