Logo

१३ पुस,बारा । आमसञ्चार प्राधिकरण मधेश प्रदेशले बाराका एक महिला पत्रकारलाई बिमा बापत रु २६ हजार ६ सय ७३ रुपैयाको चेक हस्तान्तरण गरेको छ ।

प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले बारा सिमराकी सञ्चारकर्मी रञ्जना खतिवडालाई बिहिवार स्वास्थ्य बीमावापतको प्राप्त रकम हस्तान्तरण गर्नुभएको हो ।गत बैशाखमा ढाडमा पलाएको ट्युमरको शल्यक्रिया गरेकी खतिवडाले बीमावापत उक्त रकम प्राप्त गरेकी हुन् ।

आमसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७९।०८० मा जीटुजी पोलिसी अन्तर्गत सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग मधेश प्रदेशका एक सय १० जना पत्रकार महिलाहरुको बीमा गरेको थियो।

मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको निकाय प्राधिकरणले गरेको उक्त बीमा कार्यक्रम अन्तर्गत खतिवडालाई बीमा सुविधा वापतको रकम हस्तान्तरण गरेको हो ।

पत्रकार खतिवडा सिमरा स्थित रेडियो नागरिकमा कार्यरत हुनुहुन्छ । बिमा रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिबारी ,निबर्तमान अध्यक्ष कमल कुमार उपाध्याय ,प्रेस चौतारि बाराका अध्यक्ष दिवाकर भण्डारी ,प्रेस सेन्टर बाराका अध्यक्ष रञ्जन यादब लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार