Logo

२२ पुस,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज पहिलोपटक तीन जनालाई गैरआवासीय नेपाली नागरिकता वितरण गरेको छ ।

अस्ट्रेलिया र अमेरिक बस्ने पर्साका तीन जनालाई पहिलो पटक गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जनाए ।

उनका अनुसार सबै कागजी प्रक्रिया पूरा भइसकेपछि औपचारिकरुपमा आज सिडिओबाट तीन जनलाई गैरआवासीय नेपाली नागरिकता वितरण गरिएको हो ।

तीनै जनालाई पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालयले जनायो ।
बीरगञ्ज महानगरको वडा नम्बर २३ घर भइ अस्ट्रेलिया बस्ने किरण प्रधान, महानगरको वडा नम्बर ११ घर भइ अस्ट्रेलिया बस्ने समिम अनवरलाई गैरआवासीय नेपाली नागरिकता प्रमाण पत्र दिइएको छ भने महानगरको ९ नम्बर वडामा घर भइ अमेरिका बस्ने सुमन कानुलाई गैरअवासीय नेपाली नागरिकताको दिइएको हो ।

के हो गैरआवासीय नेपाली नागरिकता ?

नागरिकता ऐनमा “विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क सदस्यराष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने” व्यवस्था छ ।
कानुनी व्यवस्थाअनुसार विदेशको नागरिकता लिएका तर कुनै समय नेपाली नागरिक रहेका व्यक्तिहरूका नातिनातिनासम्मले गैरआवासीय नेपाली नागरिकता पाउँछन्।

नेपालको नागरिकता फिर्ता नगरि विदेशी नागरिकता लिएका व्यक्तिले गैरआवासीय नेपाली नागरिकता लिन पहिले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने नियम छ ।

गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले प्रमुख जिल्ला अधिकारीबाट शपथ लिनुपर्ने नियम छ।
सपथमा “मैले नेपालको संविधान र प्रचलित कानुनबमोजिम गैरआवासीय नेपाली नागरिकलाई प्राप्त अधिकारबाहेक अन्य कुनै पनि अधिकार उपभोग गर्ने छैन भनी यो प्रतिबद्धता व्यक्त गर्दछु,” भन्ने प्रतिबद्धता जनाउनुपर्ने ढाँचा तयार रहन्छ ।

यस्तो नागरिकता लिएका व्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहितविपरीत कार्य गरेको ठहरेमा सरकारले सम्बन्धित व्यक्तिको गैरआवासीय नागरिकता रद्द गर्न सक्ने कानुनी व्यवस्था समेत छ।


सम्बन्धित समाचार