Logo

२५ पुस,काठमाडौं । जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले आज (बुधबार) सजाय निर्धारण गर्ने भएको छ।

जिल्ला न्यायाधीश शिशिरराज ढकालको पुस १३ गतेको इजलासले सन्दीपलाई दोषी ठहर गरेको थियो। अदालतले दोषी ठहर गरे पनि सजाय भने निर्धारण भएको थिएन्।

सजाय निर्धारणका लागि आज (२५ पुस २०८०, बुधबार)का लागि पेसी तोकिएको थियो।

सन्दीपले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ।

प्रहरी अनुसन्धानपछि सरकारी वकिलले सन्दीपविरुद्ध नाबालिग बलात्कार अभियोगमा मुद्दा दायर गरेको थियो। १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेको भन्दै सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ)अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको थियो। तर जिल्ला अदालतले पीडित ‘गौशाला २६’ बालिग रहेको ठहर गरेको छ।

सन्दीपले अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३) को देहाय (ङ) बमोजिम कसुर गरेको जिल्ला अदालतको ठहर छ। अपराध संहिताको दफा २१९ को उपदफा (३) को देहाय (ङ) मा १८ वर्षभन्दा माथिकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

एक किशोरी (युवती)ले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालमा सन्दीपविरुद्ध जाहेरी दिएकी थिइन्।

पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पु¥याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको बताएकी थिइन्।
पीडित किशोरीको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेको दाबी अभियोगपत्रमा गरिएको थियो।

सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीले बयान दिएकी थिइन्। बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँचसमेत गराएको थियो।

पीडित किशोरी र सन्दीप सामाजिक सञ्जाल ‘स्न्याप च्याट’मार्फत् नजिकिएका थिए। स्न्याप च्याटमार्फत् चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको बताइएको छ।

आफ्नो कारमा राखेर सन्दीपले ती किशोरीलाई भदौ ५ गते ६ बजेतिर काठमाडौंबाट भक्तपुरतिर लगेको बताइएको छ। त्यसपछि आफूहरु नगरकोटसम्म पुगेको पीडित किशोरीले बयानमा बताएकी थिइन्। नगरकोटमा सन्दीपले मदिरा सेवन गरेको र त्यहाँबाट फेरि काठमाडौं फर्किएको किशोरीको भनाइ छ।
काठमाडौं आइसक्दा रातिको ११ बजिसकेको र होस्टल (छात्राबास) बन्द हुने भन्दै एक होटलमा कोठा बुक गरेर उनीहरु बसेका थिए। सोही होटलको कोठा नम्बर ३०५ मा सन्दीपले आफूमाथि बलात्कार गरेको पीडित किशोरीले बयानका क्रममा बताएकी छन्।

उक्त घटना लगत्तै क्रिकेट खेल्न विदेश पुगेका सन्दीप नर्फिकएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत् डिफ्युजन नोटिस नै जारी भएको थियो। त्यसपछि सन्दीप असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए।

प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर उनीमाथि बलात्कारको अनुसन्धान अघि बढाइएको थियो। मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश सुनाएको थियो।

जिल्ला अदालतको आदेशपछि केही महिना थुनामा बसेका सन्दीप उच्च अदालत पाटनको आदेशपछि सर्तसहित थुनामुक्त भएका थिए।

यद्यपि, विदेश जान नपाउने उच्च अदालतको सर्त सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। उच्च अदालतको आदेशपछि थुनामुक्त भएर क्रिकेट टिममा फर्किएका सन्दीप सर्वोच्चको आदेशपछि क्रिकेट खेल्नका लागि विदेश समेत पुगेका थिए।

तर, काठमाडौं जिल्ला अदालतले अन्तिम फैसला सुनाउँदै सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो।


सम्बन्धित समाचार