Logo

५ माघ,काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । सन् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो । त्यतिबेला यो प्रतियोगिताको नाम ‘युथ क्रिकेट वल्र्ड कप’ राखिएको थियो ।

प्रतियोगिताको पहिलो दिन शुक्रबार अमेरिका र आयरल्यान्ड तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिच खेल हुनेछ । यू–१९ विश्वकपको १५औँ संस्करणमा नेपालसहित १६ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ ।

नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान पनि परेका छन् । यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग खेल्नेछ । जनवरी २४ तारिखमा नेपालले पाकिस्तानसँग आफ्नो दोस्रो खेल खेल्नेछ । नेपालले तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

प्रतियोगिताको समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाबे र नामिबिया रहेका छन् । समूह ‘बी’ मा आयोजक दक्षिण अफ्रिका, इङ्गल्यान्ड, वेस्ट इन्डिज र स्कटल्यान्ड रहेका छन् । समूह ‘ए’ मा भने भारत, बङ्गलादेश, अमेरिका र आयरल्यान्ड परेका छन् ।

समूहगत चरणको खेलको समाप्तिपछि प्रत्येक समूहको माथिल्लो स्थानमा रहने तीन–तीन टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर सिक्स’ चरणमा पुगेका टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ । समूह ‘ए’ र समूह ‘डी’ बाट आएका तीन–तीन टोली एउटा समूहमा रहने छन् ।

यसैगरी समूह ‘बी’ र समूह ‘सी’ बाट आएका तीन–तीन टोली भने ‘सुपर सिक्स’ चरणको अर्को समूहमा रहने छन् । ‘सुपर सिक्स’ चरणमा प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन् । समूह ‘ए’ को विजेताका रूपमा ‘सुपर सिक्स’ चरणमा पुगेको टोलीले समूह ‘डी’ को विजेतासँग भने खेल्ने छैन ।

समूह ‘ए’ को विजेताले समूह ‘डी’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र खेल्नेछ । समूह ‘डी’ को विजेताले पनि ‘सुपर सिक्स’ चरणमा समूह ‘ए’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र प्रतिस्पर्धा गर्नेछ ।

‘सुपर सिक्स’ चरणको खेलपछि दुवै समूहको माथिल्लो स्थानमा रहने दुई–दुई टोली यू–१९ विश्वकपको १५औँ संस्करणको सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा ‘सुपर सिक्स’ चरणको एउटा समूहमा पहिलो भएको टोलीले अर्को समूहमा दोस्रो भएको टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यसपछि सेमिफाइनल खेलमा विजयी हुने दुवै टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ११ तारिखमा खेलिने छ । भारत यू–१९ विश्वकपको साविक विजेता राष्ट्र हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा रहेका छन् । उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टोलीमा रहेका छन् ।


सम्बन्धित समाचार