Logo

२४ फागुन,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले डिजे साउण्ड नबजाउन अनुरोध गरेको छ । जिल्लाको सार्वजनिक सडक तथा बाटो र चौरहरुमा बजाइएको डिजे साउण्डले सर्वसाधारणको जनस्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले यस्ता कार्य तत्काल रोक्न आग्रह गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराले आज सूचना जारी गर्दै चर्को ध्वनी निष्कासन गरी डिजे साउण्ड बजाएर अभद्र र उच्छृंखल प्रकारका गतिविधि नगर्न÷नगराउन अनुरोध गरेको हो । जिल्लाका विभिन्न स्थानहरुमा बजाइने यस्ता संगीतले सामाजिक तनाव तथा द्धन्द्धको वातावरण सृजना गर्ने, मानसिक तथा शारीरिक समस्या बढाउने, झै–झगडाका घटनाहरु बढ्ने र ध्वनी प्रदूषण बढेको गुनासो आएकोले डिजे साउण्ड नबजाउन बाराका प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले आग्रह गरेका हुन् ।

साथै प्रहरीले यस्ता कार्य नरोकेमा प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी समेत सूचनामार्फत दिएको छ ।

के छ कानूनी व्यवस्था ?
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा ११२ मा वातावरण प्रदूषित गर्न नहुने भन्ने व्यवस्था र सोही दफाको उपदफा (२) मा अधिकार प्राप्त अधिकारीको इजाजत बिना यान्त्रिक साधनबाट ध्वनी, रेडियोकर्मी विकिरण वा जोखिमपूर्ण फोहोरमैलाको उत्पादन, प्रसारण ओसारपसार गर्न वा थुपार्न नहुने र सोहीको दफाको उपदफा (४) मा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
वातावरण संरक्षण ऐन २०७६ को परिच्छेद ३ को दफ १५ को उपदफा १ बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै सवारी साधन, यन्त्र, उपकरण, औधेगिक प्रतिष्ठान, होटेल, रेष्टुरेन्ट वा अन्य स्थान वा मालवस्तु वा कुनै क्रियाकलपाबाट हुने प्रदूषण नियन्त्रण गर्ने व्यवस्था रहेको र सो विपरित कार्य गर्नेलाई यसै ऐन बमोजिम न्युनतम ५ लाख रुपैँया जरिवाना र क्षर्तीपूर्तीदेखि अधिकतम ५० लाखसम्म जरिवाना तथा क्षर्तीपूर्ती भराउने कानूनी व्यवस्था रहेको छ ।


सम्बन्धित समाचार