Logo

२७ फागुन,काठमाडौं । नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शल्यक्रियामा देखिएको ढिलाइलाई छिटो छरितो व्यवस्था मिलाउने पहिलो निर्णय गरेका छन् ।

आइतबार शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले संघीय तथा प्रादेशिक अस्पतालहरूमा शल्यक्रियाको समय लिन बिरामीको लामो लाइन हुने अवस्था रहेकाले घरैबाट शल्यक्रियाको समय लिन सक्ने निर्णय गरेका हुन् ।

बिरामीहरु लामो लाइन बसेर उपचार सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने भन्दै मन्त्री यादवले त्यसलाई सहज बनाउदै बिरामीले समयमै उपचार सेवा पाउने गरी अनलाइन एवं डिजिटल प्रविधिमार्फत घरैबाट पनि समय लिने व्यवस्था मिलाउने बताए ।

उनले संघीय निजामती सेवा ऐनमा स्वास्थ्य सेवा ऐन समायोजनका लागि कार्यदल बनाउने निर्णय पनि गरेका छन् । स्वास्थ्य समायोजन गिजोलिएकाले अहिलेसम्म स्वास्थ्यकर्मीको प्रभावकारी व्यवस्थापन नभइरहेका बेला यसले समाधान निकाल्ने अपेक्षा उनको छ ।

यादवले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै सरकारी स्वास्थ्य संस्थाको क्षमतावृद्धि र विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।

जसपा अध्यक्ष यादव गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभासदस्यको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् । उनले यसअघि स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।


सम्बन्धित समाचार