Logo

 २७ जेठ,काठमाडौं ।  सभामुख डीपी अर्यालले बोल्ने समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभामा वेल घेराउ गर्दै नाराबाजी गरेका छन्।

बिहीबारको बैठकमा सभामुखले विपक्षी दलका सांसदहरूलाई रोष्ट्रममा आएर बोल्न समय दिए पनि श्रम संस्कृति पार्टीका सांसदहरूलाई समय उपलब्ध नगराएपछि विवाद उत्पन्न भएको हो।

पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूहरूलाई बोल्न किन समय नदिएको भन्दै सभामुखसँग प्रश्न गरेका थिए। तर सभामुख अर्यालले सम्बन्धित दलका सांसदहरूले नाम टिपाउनुपर्ने प्रक्रिया पूरा नगरेको र बैठकमा निरन्तर अवरोध सिर्जना गरिएको कारण समय दिन नसकिएको जवाफ दिएका थिए।

सभामुखले श्रम संस्कृति पार्टीका सांसदहरूले मन्त्रीहरूले बोल्दा समेत लगातार विरोध जनाइरहेको भन्दै संसदीय मर्यादा कायम नभएकाले समय दिन नसकिएको स्पष्ट पारे। उनले नियमित कार्यसूची अघि बढाउने घोषणा गरेपछि श्रम संस्कृति पार्टीका सांसदहरू आक्रोशित बनेका थिए।

लगत्तै उनीहरू रोष्ट्रम अगाडि पुगेर वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए। उनीहरूले सभामुखले विभेदपूर्ण व्यवहार गरेको आरोप लगाउँदै ‘मुर्दावाद’ लगायतका नारा लगाएका थिए।

विवादका कारण केही समय संसद बैठक अवरुद्ध भएको थियो भने स्थिति केही समय तनावपूर्ण बनेको देखिएको थियो।


सम्बन्धित समाचार