Logo

२९ फागुन,वीरगञ्ज । दाइजोमा सुनको सिक्री नदिएको निहुँमा विवाह नै रद्द गर्ने बेहुलासहित ६ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा गएराती विवाहको मण्डपमा वैवाहिक कार्यक्रम चलिरहकै समयमा सुनको सिक्री नपाएको निहुँमा बिहे रद्द भएको घोषणा गर्ने बेहुलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेहुला बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ सिनेमा चोकका उमेश साह, बेहुलाका बुवा बच्चालाल साह, दाजुहरु राकेश साह र मुकेश साह, भिनाजु आनन्द साहससहित ६ जना रहेका प्रहरीले जनाएको छ ।

दाइँजोमा सुनको सिक्री नपाएपछि उमेश र वीरगन्ज २४ रामगढवाका सुखल सहकी छोरी रमिता कुमारीको विहे नै भाँडिएको छ । विहे चल्दै गर्दा बेहुला र बेहुली पक्षबिच विवाद भएको खबर आएपछि बेहुला पक्षका ६ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरक्षिक धर्मजंग थिङले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको उहाँको भनाइ छ ।

यसैबिच पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले केटी पक्ष जाहेरी लिएर नआएको बताउनुभयो । उहाँले केटी पक्षको जाहेरीपछि सोही बमोजिम अनुसन्धान अघि बढ्ने जानकारी दिनुभयो ।

उमेश वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटरको रुपमा कार्यरत छन् । भने रमिता वीरगन्जकै नारायणी अस्पतालको ल्याबमा कार्यरत ल्याब टेक्निसियन हुन् ।


सम्बन्धित समाचार