Logo

२ चैत,वीरगञ्ज । पर्साबाट प्रहरीले तीन करोडभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ । प्रहरीले चालु आर्थिक वर्षको फागुन महिनाको अवधिमा तीन करोड ३१ लाख २ हजार ३२३ मूल्यका सामान बरामद गरेको हो ।

जिल्लाका फरकफरक स्थानहरुबाट भन्सार चोरी पैठारी गरी वीरगञ्ज भित्राइदैँ गरेको अवस्थामा चिनी, खाने तेल, चक्लेट, प्याज लगायतका खाद्यान्न सामान, हार्डवेयर पार्टस, लत्ताकपडाहरू, पेयपदार्थ, कोल्ड ड्रिंक्स, जुत्ता चप्पल र भाडाकुडा लगायतका सामानहरू बरामद भएको पर्साका प्रहरी नायब उपरिक्षक प्रवक्ता कुमार बिक्रम थापाले जनाए । बरामद सामान आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइए उनले बताए ।

यसैगरी सोही एक महिनाको अवधिमा ९३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । विभिन्न मुद्दाका ९३ जनालाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाएको पर्सा प्रहरीले बतायो ।

यस्तै पर्सा प्रहरी प्रवक्ता थापाले प्रहरीले भारी परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद गरेको जानकारी दिए । उनका अनुसार प्रहरीले लागूऔषध ट्याब्लेटहरु दुई हजार ५८५, खैरो हेरोइन २० ग्राम ९५ मिलीग्राम, कोरेक्स ८ बोत्तल र गाँजा १४ किलोग्राम बरामद गरेको हो ।


सम्बन्धित समाचार