Logo

१६ चैत,वीरगञ्ज । पर्सा जिल्लामा ८ महिनामा ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट करोड रुपैयाँ भन्दा बढी जरिवाना असुली गरिएको तथ्यांक सार्वजनिक भएको छ ।चालु आर्थिक वर्षको ८ महिनामै सवारीसाधनको कारबाहीबाट एक करोडभन्दा बढी रकम राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

साउनदेखि फागुन मसान्तसम्ममा ट्राफिक नियम उल्लंघन गरेका विभिन्न खाले सवारीसाधनबाट १ करोड ५७ लाख ६९ हजार ६०६ रुपैयाँ जरिवानावापत राजश्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख भाष्कर खतिवडाले बताए ।
उनका अनुसार चालु आवको साउनदेखि फागुन महिनासम्म १५ हजार ५९१ सवारीलाई कारबाही गरिएको छ । कारबाहीमा परेका सबैखाले सवारीसाधनबाट उक्त रकम संकलन गरेको ट्राफिक प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

यो गत आर्थिक वर्ष २०७९/०८० को सोही समयको अवधिभन्दा ३१ लाख ४२ हजार ८९७ ले कम हो । गत आवको साउनदेखि फागुनसम्मको अवधिमा कार्यालयले १ करोड ८९ लाख १२ हजार ५ सय रुपैँया राजश्व संकलन गरेको थियो ।
ट्राफिक प्रहरीले खासगरी ट्राफिक नियम उल्लघंन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बढी भाडा लिने, तोकिएको मापदण्ड तथा आवश्यकताभन्दा बढी भार बहन गर्ने वा ओभरलोड गर्ने, कागजपत्र नबोक्ने, लापरवाही तरिकाले सवारी चलाउने, सिटबेल्ट नबाध्नेहरुलाई जरिवाना रसिद काटेको थियो ।

ट्रक, बस, कार/जिप/भ्यान, ट्याक्टर, मोटरसाईकल र ट्याम्पो लगायतका सवारीसाधनलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कुन सवारीबाट कति जरिवाना ?

जिल्ला ट्राफिक प्रहरी कार्यालयले प्रत्येक महिना विभिन्न सवारीलाई कारवाही गरी लाखौँ रुपैँया जरिवाना गरेको तथ्याङक बाहिरिएको छ ।कार्यालयले चालु आवको ८ महिनामा ६ हजार ४२५ ट्रकलाई कारबाही गरी ८८ लाख १९ हजार २ रुपैँया जरिवाना तिराएको छ । यस्तै १३२ बसबाट १ लाख ३० हजार ५००, १ हजार ३२४ कार/जिप/भ्यानबाट एक करोड २० लाख २ हजार ५५३ रुपैँया संकलन गरेको प्रहरीको आँकडा छ ।

यसैगरी २४४ ट्याक्टर र ७ हजार १२ मोटरसाइकललाई कारवाही गर्दा क्रमश : १ लाख ९० हजार र ४९ लाख ८० हजार ५१ रुपैँया राजश्व संकलन भएको कार्यालयले जनायो । त्यस्तै ४५४ अन्य (ट्याम्पो) माथिको कारवाहीबाट ३ लाख ४७ हजार ५०० सय रुपैँया संकलन भएको छ ।

पछिल्लो समय ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइँ गरेकोले राजश्व संकलनमा वृद्धि भएको ट्राफिक प्रहरी कार्यालय बताउँछन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई ५ सयदेखि ५ हजार रुपैँयासम्म जरिवाना शुल्क लिने गरिएको ट्राफिक प्रहरीले जनायो ।

कार्यालयले सबैभन्दा बढी फागुनमा राजश्व संकलन गरेको जनायो । उक्त समयमा कार्यालयले सबैभन्दा बढी २८ लाख ७४ हजार ५० रुपैँया राजश्वमार्फत संकलन गरेको हो ।
यसैगरी माघमा २८ लाख २३ हजार २, पुषमा २६ लाख २३ हजार १, मंसिर २१ लाख ५७ हजार ३, कात्तिक १५ लाख ४१ हजार, असोज १९ लाख ३ हजार ५५०, भदौ १२ लाख २१ हजार ५०० र साउनमा ६ लाख २६ हजार ५०० रुपैँया संकलन भएको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।


सम्बन्धित समाचार