Logo

१४ वैशाख,सेढवा । शिक्षक सेवा आयोगबाट सिफारिस भएर आएका स्थायी शिक्षकहरुलाई पर्साका दुई वटा गाँउपालिकाले पदस्थापन नगरेको रहस्य बाहिरिएको छ । नियुक्ति भएको दुई साता बितिसक्दासमेत जिल्लाका धोबिनी र सखुवाप्रसौनी गाउँपालिकाले शिक्षकहरुलाई पदस्थापन नगरेको खुलासा भएको हो ।

धोबिनी गाँउपालिका वडा नं २ असवारी स्थायी घर भएका शिक्षक सोनालाल महतो शिक्षा बिकास तथा समन्वय इकाइ पर्साबाट चैत्र २८ गते नियुक्ति पत्र बुझेको र धोबिनी गाँउपालिकामा पठाएका बताउँछन् । गाँउपालिकाको कार्यालयमा पुग्दा भोली पर्सी गर्दागर्दै दुई बिती सकेको उनले जनाए ।

उक्त पालिकामा शिक्षा बिकास तथा समन्वय इकाइ पर्साले ६ जना स्थायी शिक्षकहरु पठाएका थिए ।
बाँके जिल्ला घर भइ धोबिनी गाँउपालिका आएका रामप्रसाद थारुले चैत्र २८ गतेदेखि गाउँपालिकाको कार्यालयमा खर्च रकम सकिएपछि घर फर्केको जानकारी दिए । गाउँपालिका कार्यालयबाट बैशाख १६ गते आइतबार शिक्षकहरुलाई पदस्थापन गर्ने सुचना आएको र सोही दिन बिहान पुग्ने उनको भनाइ छ ।

त्यस्तै सखुवाप्रसौनी गाउँपालिकामा आएका १४ जना शिक्षकमध्ये ११ जनालाई पदस्थापन गरिएको शिक्षा शाखा प्रमुख नेपालन्दु साहले बताए ।

पालिकाले शिक्षा बिकास तथा समन्वय इकाइ पर्सासँग ८ जना माग गरिएको तर १४ जना पठाएकाले पदस्थापन गर्न समस्या भएको उनले जनाए । तरपनि ११ जनालाई पदस्थापन गरी तीन जनालाई इकाइ मै फिर्ता पठाउने प्रमुख साहको जिकिर छ ।

शिक्षक सेवा आयोगले यस वर्ष पर्सामा १ सय ८२ जना शिक्षकहरुलाई सिफारिस गरेको छ । शिक्षा नियमानुसार प्रत्येक शिक्षकले एक शैक्षिक शत्र अर्थात् बैशाख १ गतेदेखि चैत्र ३० गते कार्य गर्दा एक ग्रेट पाउने व्यवस्था छ ।

पालिकाका जनप्रतिनिधिहरुले विद्यालयमा भएका रिक्त साधारण दरबन्दीमा नजिकका व्यक्ति वा मोटो रकम लिई करारमा नियुक्ति गरेका कारण यस्तो समस्या उत्पन्न हुने जानकारहरु बताउँछन् ।


सम्बन्धित समाचार