Logo

१४ वैशाख,वीरगञ्ज । पर्सा जिल्लाका २ सय जना भन्दा बढी बालबालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चिठ्ठी पठाएका छन् । जिल्लाका २ सय १५ जना बालबालिकाले प्रधानमन्त्री प्रचण्डलाई चिठ्ठी पठाएका हुन् ।

गुणस्तरीय शिक्षाको माग गर्दै २१५ जना बालबालिकाले लेखेको चिठ्ठी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी (सिडिओ) शिवप्रसाद लम्सालमार्फत प्रधानमन्त्रीलाई पठाइएको हो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल नामक संस्थाले आज सहायक सिडिओ लम्साललाई बालबालिकाको चिठ्ठी हस्तान्तरण गरेको हो ।

उक्त संस्थाले जिल्लाका विभिन्न सामुदायिक विद्यालयहरुमा सामुदायिक विद्यालयको सुधार लगायतका विषयमा एक हप्ते अभियान सञ्चालन गरेको थियो । सोही अभियानबाट संकलित पत्रहरु सहायक प्रजिअ लम्सालमार्फत प्रधानमन्त्रीलाई बुझाइएको सस्ंथाले जनायो ।

बालबालिकाले पत्रमा ‘मैले चाहेको विद्यालय’ शीर्षकमा लेखेको पत्रमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने, विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्थापन हुनुपर्ने, प्रयोगशाला हुनुपर्ने, जीवन उपयोगी तथा सीपमुलक शिक्षाको व्यवस्थापन गर्नुपर्ने, बालमैत्री र अपाङगमैत्री शिक्षाको व्यवस्थापन गर्नुपर्ने लगायतका माग प्रधानमन्त्रीसमक्ष राखेका छन् ।


सम्बन्धित समाचार