Logo

१५ वैशाख,वीरगञ्ज । मधेश प्रदेशका जिल्लामा अत्याधिक गर्मीका कारण घरबाहिर निस्कनै कठिन भएको छ । पछिल्लो दुई साता यता बढेको अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको हो ।

यहाँ औसत तापक्रम ३५–४० डिग्री सेल्सियसको हाराहारीमा पुग्दा सर्वसाधारणलाई सास्ती भएको छ । चर्को गर्मी र तातो हावा ‘लू’ चल्दा बाहिर काम गरेर जीविका चलाउनेहरूको दैनिकी निकै कष्टकर बन्दै गएको छ ।

अहिले तराईका जिल्लामा उख्खरमाउलो गर्मीको कारण बालबालिकादेखि वृद्धवृद्धासम्म प्रभावित छन् । गर्मी बढ्दै गएपछि बजार समेत सुनसान बनेको छ ।

वैशाखको पहिलो सातादेखि तापक्रम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जस्थित सरकारी तथा निजी अस्पतालहरु, क्लिनिक लगायत ग्रामीण भेगमा स्वास्थ्य सस्ंथाहरुमा बिरामीहरुको सङख्यामा समेत वृद्धि भएको छ ।

यति बेला गर्मीका कारण हुने स्वास्थ्य समस्या लिएर आउने बिरामीको भने संख्या ह्वात्तै बढेको चिकित्सकहरुले बताएका छन् ।

उखरमाउलो गर्मी र तातो हावा चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुने, वान्ता हुने लगायतका असर देखिने गर्छ । तातो हावाबाट बच्नका लागि गर्मीको समयमा सकेसम्म घरमै बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

गर्मीबाट जोगिन पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउन, छाता र पानी लिएरमात्र घरबाहिर निस्किन उनीहरुले सुझाव दिएका छन् ।


सम्बन्धित समाचार