Logo

१६ वैशाख,वीरगञ्ज । परीक्षा सेन्टरमा अमर्यादित व्यवहार भएको भन्दै वीरगञ्जको हरिखेतान बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । कक्षा १२ को परीक्षा हुनु भएको दिनदेखि नै परीक्षामा कलेजका शिक्षकहरुले अमर्यादित व्यवहार गरेको भन्दै परीक्षार्थीहरुले तोडफोड गरेका हुन् ।

विभिन्न बहाना बनाएर मानसिक यातना दिएको भन्दै विद्यार्थीहरुले आज दोस्रो दिनको परीक्षा पश्चात तोडफोड गर्दै ढुङ्गामुढामा उत्रिएका हुन् । परीक्षामा सहभागी एक विद्यार्थी भन्छन्, ‘हामीहरुलाई अनुगमन गर्ने निहुँमा उत्तरपुस्तिका खोसिदिने, उभ्याइदिने जस्ता अमर्यादित क्रियाकलाप निरन्तर भइरह्यो, अस्ति पनि सह्यौ, तर आज सिमा नाघ्यो । हामीले सहन सकेनौँ, त्यहिकारण त्यसको प्रतिकारमा उत्रियौ ।’

आजको परीक्षा सकिएपछि आक्रोशित विद्यार्थीहरूले क्याम्पस परिसरमा विरोध गर्दै ढुङ्गामुढा गरेका हुन् । ढुङ्गामुढाबाट क्याम्पस भित्र रहेको बस, गाडी, फर्निचर, मोटरसाइकललगायतमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
यता हरिखेतान बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख किशोरी राय यादवले एनआइ कलेजका परीक्षार्थीहरुले तोडफोड गरेको जनाए । उक्साहटमा आएर परीक्षार्थीहरु तोडफोडमा उत्रिएका पाइएको उनको आरोप छ ।

वडा प्रहरी कार्यालय विर्ताका अनुसार घटना आज बिहान सवा ११ बजेपछिको हो । अहिले स्थिती प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनायो । यसैबिच विवादका कारण एनआइ कलेजका ३ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको छ ।

गम्भिर घाइते भएका साह आलमको न्यूरो अस्पतालमा उपचार भइरहेको एनआइ कलेजले जनाएको छ ।


सम्बन्धित समाचार