Logo

२७ वैशाख,वीरगञ्ज । वीरगञ्ज र यस आसपासका क्षेत्रमा विद्युत आपूर्तिमा भइरहेको समस्या समाधान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रसँग माग गरेको छ ।
रास्वपाको पर्सा क्षेत्र नम्बर १ का नेता कार्यकर्ताहरुले बिहीबार नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रमा पुगेर ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेको हो ।

रास्वपा पर्सा क्षेत्र नम्बर १ का नेता कार्यकर्ताहरुले विद्युत प्राधिकरण वीरगन्जका प्रमुख अवधेश कुमार दुबेलाई उनकै कार्यकक्षमा पुगेर पत्र बुझाउँदै विद्युत आपूर्तीमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेका हुन् । केहिदिनदेखि नियमित भइरहेको विद्युत् आपूतीको समस्या तत्काल समाधान नगरे आन्दोलनमा उत्रिने चेतावनीसमेत रास्वपाले दिएको छ ।

बढ्दो गर्मीसँगै छिनछिनमा लाइन काटिँदा नगरबासीलाई सास्ती भएको छ । दिनभर चर्को घाममा काम गरेर फर्किएका कामदार तथा मजदुरहरु यसबाट विशेष प्रभावित छन् । उनीहरु भन्छन्, ‘दिनभर घाममा काम गर्नुपर्छ, काम नगरे छाक टार्न धौधौ हुन्छ, थाकेर साँझमा घर पुग्यो, खाना खानेबेलादेखि बत्ती जान सुरु हुन्छ र यो क्रम रातैभर जारी हुन्छ ।’

नियमित बत्ती काटिदाँ थकानसमेत राम्रोसँग मेट्न नपाइ भोलीपल्ट काममा हिड्नु परेको उनीहरुको दुखेसो छ । यस्तै घरमा बस्नेहरुसमेत दिनभरको लोडसेडिङले आजित भएका गुनासो गरेका छन् ।
गर्मीले अस्तव्यस्त बनाएको नगरबासीको दैनिकीलाई झ्याप्झ्याप लाइन जाँदा झनै सास्ती भएको छ । यी सबै समस्याको समाधान गरी अघोषित लोडसेडिङ बन्द गर्न रास्वपा पर्साले विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रसँग माग गरेको हो ।


सम्बन्धित समाचार