२९ वैशाख, वीरगञ्ज । पोखरिया नगरपालिका वडा नम्बर ४ मा विहिबार कलशयात्रा गरी ९ दिने विष्णु महायाज्ञ शुरु भएको छ ।
प्रायः दलितलाई महायज्ञको पुजावेदीमा बस्न नदिएको भनेर विवाद सुन्ने गरिन्छ । तर पोखरियामा आयोजना भएको ९ दिने विष्णु महायज्ञमा दलित समुदायका ७ जनाको सहभागिताले छुवाछुतको अन्त्य गर्ने सामाजिक रुपान्तारण शुरु गरेको छ ।
महायज्ञमा २५ जना महायज्ञको पुजा.वेदीमा सहभागी छन् र त्यसमध्ये सातजना दलित समुदायबाट रहेका महायज्ञ आयोजक समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष लक्ष्मण साह कानूले बताए ।
‘महायज्ञका अन्य कार्यमा दलितहरुलाई सहभागिता गराईन्छ तर जब पुजा वेदीमा बस्ने कुरा आउँछ, तब उप्पलो जातका समुदायले उनीहरुलाई रोक लगाउँछन्, महायज्ञमा सहभागी गराइयो तर पूजा वेदीमा बस्न नदिएको भनि कयौं विवादका घटना छन् ।’
महायज्ञ आयोजक समितिका अध्यक्ष समेत रहेका पोखरिया नगरपालिका वडा नम्बर ४ का अध्यक्ष कानुले भने ‘भेदभाव गर्नु मानवताको हनन् हो, कानुनमा पनि छुवाछुतको भेदभाव गर्नुलाई अपराध मानिन्छ । हामी २१ औं सताब्दीमा आएर पनि दलित भनेर हेप्नु हुन्न । उनीहरुले दिएको पैसा अमृत भएजस्तै पुजामा सहभागी गराए पुण्य पाईन्छ ।’
हरेक ठाउँमा दलितलाई बेवास्ता गर्दै महायज्ञ गर्दा झैझगडा र विवाद हुने गरिएको कुरालाई दृष्टिगत गर्दै आफुले संबिधानको पालना गरेर समाजलाई नयाँ सन्देश दिन खोजेको अध्यक्ष कानुले बताए ।
दलित समुदायबाट जादोलाल, गम्भीरा, जुगल, रमयाद, बाबुलाल, मोतीलाल र मनोज राम गरी सात जना दम्पति सँगै पूजावेदीमा बसेका छन् । वेदी पूजामा विवाहिता महिला–पुरुष दुवैजना सहभागी हुनुपर्ने प्रावधान छ ।
दलित समुदायहरूसँग कुनै पनि भेदभाव नगरिएको र छुवाछूतविरुद्धको आन्दोलनमा उत्कृष्ट साबित भएको दाबी स्थानियले बताउँछन् ।
महायज्ञ आगामी जेठ ४ गते सम्म चल्ने छ । महायज्ञ स्थल वरपर माछामासुको विक्रीवितरणमा रोक लगाइएको छ ।
महायज्ञमा अयोध्याका रामप्रकाश गर्गको नेतृत्वमा १४ जना ब्राह्मणको टोलीले बिहान र साँझ पूजा गर्ने र साँझ अयोध्याबाटै आएको टोलीले रामलीला, रासलीला प्रदर्शन गर्ने गरेको आयोजक समितिले जनाएको छ । मनोरञ्जनको लागी खेलकुद, झुला, आदी को व्यवस्था छ ।
पर्सामा कहाँ कहाँ विवाद थियो ?
यसअघि, छिपहरमाई गाउँपालिकामा भएको महायज्ञमा दलितहरूलाई वेदी पूजामा सहभागी गराइएको थिएन । सोको विरुद्ध दलितहरूले महायज्ञको पूजन कार्य बहिष्कार गरेका थिए । उनीहरूको सहभागितामा चन्दा सङ्कलनलगायत महायज्ञको तयारी गरिएको तर अन्तिम समयमा पूजा वेदीमा बस्न नदिएपछि उनीहरूले शान्तिपूर्णरूपमा पूजा बहिष्कार गरेका थिए ।
यसैगरी, गत वर्ष अलौंमा पनि छिपहरमाई जस्तै यज्ञका सबै काममा दलित सहभागिता गराइएको थियो भने पूजा वेदीमा उनीहरूलाई सहभागी नगराइएपछि ठूलो विवाद भएको थियो । सखुवाप्रसौनीमा भएको महायज्ञमा पनि दलितहरूलाई सहभागी गराइएको थिएन ।















