Logo

५ जेठ,वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार बीरगन्जमा एक अभियुक्तका हाइप्रोफाइ परिवारका गाडी चढेको खुलासा भएको छ ।

पर्सा प्रहरीमा दर्ता भएको मुद्दाका आरोपित परिवारको गाडी एमाले अध्यक्ष ओली चढेको बताइएको छ ।

एमाले अध्यक्ष ओली वीरगञ्ज आएका बेला पर्सा प्रहरीमा नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुद्दिन अन्सारी चढ्ने गाडी प्रयोग गरेका थिए । कलेजका अध्यक्ष डा. अन्सारी सोही कलेजका एमडी शहनवाज अन्सारीका बुवा हुन् ।

एमडी शहनवाज अन्सारीमाथि पर्सा प्रहरीमा मुद्दा अनुसन्धानको प्रक्रियामा छ । २६ चैतमा एमडी अन्सारीलाई प्रहरीले ल्याबबाट म्याद नाघेको केमिकलसहित पक्राउ गरी मुद्दा चलाएको थियो ।
पर्सा प्रहरीले उनीमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराधविरुद्धको मुद्दा अन्तर्गत म्याद थप गरेको थियो ।

तर अदालतबाट म्याद थप भएका अन्सारीलाई भने दोस्रोपटक ५ दिनको म्याद थप भएको केही घण्टामै राती साढे ११ बजे भिभिआइपी दबाबका कारण रिहा भएका थिए ।

बाहिर राखेर अनुसन्धान गर्ने शर्तमा कलेजका एमडी अन्सारी प्रहरीबाट तारेखमा रिहा भएका थिए । त्यही मुद्दामा एमडी अन्सारी अझै पनि अनुसन्धानको दायरामा छन् । अर्था्त प्रहरीले एमडी अन्सारीमाथिको अनुसन्धान अmभै टुंगो लगाएको छैन ।

प्रहरीमा रहेको मुद्दामा आफ्नो छोरा एवम् एमडी अन्सारीको अनुसन्धानलाई प्रभावित पार्न शुक्रबार मेडिकल कलेजका अध्यक्ष डा. अन्सारीले आफ्नो महंगो गाडी दिएर एमाले अध्यक्ष ओलीसंग हाइप्रोफाइल ‘कनेक्सन’ रहेको पुष्टि गरेका छन् ।

कलेज अध्यक्ष अन्सारी परिवारले हाइप्रोफाइल ‘कनेक्सन’ गाडी दिएर मात्र नभइ अझ आफ्नै घरमा लगेर अध्यक्ष ओलीको सेवा सत्कारसमेत गरेको फोटोहरु सामाजिक सञ्जालमा भाइरल छन् ।

पछिल्लो समय कलेजका अध्यक्ष डा. अन्सारीले आफ्नो छोरालाई मुद्दाबाट बचाउन हाइप्रोफाइल भेटघाट तथा सेवा सत्कारमा जुटेको उनीसंगै रहेका नाम उल्लेख नगर्ने शर्तमा एक अन्सारी बताउँछन् ।

ती अन्सारी भन्छन्, ‘पछिल्लो समय चेयरमेन साहेब आफ्नो छोरालाई बचाउन देशका भिभिआइपीहरुसंग भेटघाट तथा सेवा सत्कारमा लागिरहनु भएको छ, यसअघि गृहमन्त्री रवि लामिछाने पनि बीरगन्ज आउँदा पनि कलेजले सबै सेवा गरेको थियो, त्यतिमात्र होइन सबै पार्टीका अध्यक्षज्यूहरुसंग सिधै भेटघाट गरेर सहयोग लिने/दिने काम पनि भइरहेको छ । त्यही रणनीति अन्तर्गत डा. अन्सारीले आफै ओलीलाई आफ्नो गाडी दिएका हुन ।’

उनका अनुसार यो अरु केही नभइ प्रहरीमा रहेको मुद्दालाई प्रभावित पार्न डा.अन्सारीको रणनीति हो । त्यही बमोजिम हिजो उनी गाडी दिएर आफ्नो योजनामा सफल पनि भएको उनी बताउँछन् ।

कारण- ओली प्रभावित भएर कलेजका अध्यक्ष डा. अन्सारीको घरमा त्यति व्यस्तताको बाबजुद पनि गएका थिए, जसको एउटै उद्देश्य हो- अन्सारी एमाले अध्यक्ष ओलीसंग सम्पर्कमा रहेको देखाउनु ।

छोरामाथि प्रहरीमा दर्ता मुद्दा प्रभावित बनाउन नेशनल मेडिकल कलेजका अध्यक्ष डा.जैनुद्दिन अन्सारीले हाइप्रोफाइल हतकन्डा अपनाएको उनको ठोकुवा छ । अन्सारीको गाडी अध्यक्षले किन चढेको भन्ने सवालमा एमालेका सांसद एवम ओली निकट मानिने पर्साका सांसद प्रभु हजरासंग गरिएको प्रश्नमा उनले भने, ‘अन्सारी आफ्नो पार्टीको व्यक्ति हुन, उनको गाडी सुविधा सम्पन्न छ । त्यही भएर हामीले उनको गाडी प्रयोग गरेका हौं ।’

यो विषयमा बुझन् खोज्दा अन्सारी परिवारले कुनै प्रतिक्रिया दिन चाहेनन् ।


सम्बन्धित समाचार