Logo

८ जेठ,रौतहट । फिरौती रकम माग गर्ने उद्देश्यले झुक्काएर अपहरण गरी हत्या गरेर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका वडा नम्बर ५ का ५८ वर्षका राजु मिश्र रहेका छन् ।

मिश्रमाथि ०७८ सालमा रौतहट गौर–३ का २७ वर्षका रोहित कुमार जैसवाललाई अपहरण गरी हत्या गरेको आरोप छ । जैसवाललाई अपहरण गरी भारतको बैरगिनियामा लगि बन्धक बनाई हत्या गरेर शव जुटको बोरामा हालेर नन्दवारा पुल मुनि फालेका थिए ।

घटनापश्चात जैसवालका बुबा रामाशंकर प्रसादले संगठित अपराध, अपहरण तथा शरिर बन्धक र कर्तव्य ज्यान मुद्दामा दिएको जाहेरीको आधारमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । घटनापछि मिश्र भने फरार रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

खोजी गर्दै जाने क्रममा उनलाई ज्येष्ठ ६ गते रौतहट गौर– १ स्थित नेपाल भारतको बोर्डर भन्सार नजिकबाट पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसपी सुबास चन्द्र बोहराले जानकारी दिए । पक्राउ परेका मिश्रलाई आवश्यक कारवाहीका लागि प्रहरीले सोमबार (हिजो) जिल्ला अदालत रौतहटमा उपस्थित गराएको थियो । अदालतले पुर्पक्षका लागि गौर कारागार चलान गर्न आदेश दिएको प्रवक्ता बोहराले बताए ।


सम्बन्धित समाचार