Logo

९जेठ,ठोरी । मानव वन्यजन्तु सह–अस्तित्व र द्वन्द्व व्यवस्थापनका विषयमा आज पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा ईको शिक्षक अन्तरक्रिया सम्पन्न भएको छ ।

सुनाखरी उपभोक्ता समितिको आयोजना र तराई भू– परिधी कार्यक्रम (ताल) कार्यक्रमको सहकार्यमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल संरक्षणकर्मी एवम् ठोरीका विभिन्न विद्यालयका ईको शिक्षकहरुको सहभागिता थियो ।

कार्यक्रममा सहभागीहरुले मानव र वन्यजन्तुका बीचमा बढ्दै गएको द्वन्द्वले मध्यवर्ती क्षेत्रमा संरक्षणको चुनौती थपिएकोमा चिन्ता व्यक्त गरेका थिए । मध्यवर्ती क्षेत्रका जनताको जीवनस्तर उकास्न र जिविकोपार्जनका कार्यक्रम अझै प्रभावकारी ढङ्गले लागु गर्न सकेमात्र संरक्षण कार्य प्रभावकारी बन्न सक्ने वक्ताहरुको जोड थियो ।

संरक्षणमा अपराध र मानव वन्यजन्तु द्वन्द्व मुख्य समस्याका रुपमा रहेको बताउँदै विद्यालय तहबाट नै विद्यार्थीमा संरक्षणप्रति सकारात्मक धारणाको विकास गर्न शिक्षकको मुख्य भुमिका रहने वक्ताहरुको धारणा थियो ।
कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र परिषदका अध्यक्ष सिताराम अर्याल, पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडा, ताल कार्यक्रमका प्रेम पौडेल लगायतले बोल्नुभएको थियो ।

सो अवसरमा परिषद् अध्यक्ष अर्यालले विद्यालयका विद्यार्थीमा संरक्षणप्रति सकारात्मक सोचको विकास गर्न विभिन्न कार्यक्रम गर्न जरुरी रहेको विचार व्यक्त गर्नुभयो ।

यस्तै वरिष्ठ संरक्षण अधिकृत खतिवडाले राज्यले मानव वन्यजन्तु न्युनीकरणका लागि थुप्रै प्रयासहरु गरिरहेको बताउँदै राज्यका संरक्षण सम्बन्धी नीति र कार्यक्रमको पालना गर्नु सबैको दायित्व रहेको बताउनुभयो ।
सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर पाख्रीनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुसुमबाटिका उपभोक्ता समितिका अध्यक्ष बुद्धलाल पाख्रीन लगायतको पनि उपस्थिति थियो ।


सम्बन्धित समाचार