Logo

१० जेठ,सेढवा । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं २ रंगपुरमा सञ्चालित शिवम लेयर्स फार्म प्राइभेट लिमिटेडका कारण स्थानीयलाई सास्ती भएको छ । वर्षोदेखि यहाँका नागरिकहरुले कष्टकर जीवन बिताउन बाध्य छन् ।

करिब ५० हजार कुखुरा पालिएको यस फार्मबाट उत्पन्न हुने वायु प्रदूषण तथा झिंगा भन्किदाँ त्यस आसपासका नागरिकको दैनिकीमा समस्या भएको छ । पालिकाको वडा नं १ देखि ३ अन्तर्गत पर्ने मकवानीटोल, वनकटवा, चाफी, भाथा, थरघटी, धर्मबस्ती, रामपुर, बैजनाथपुर र रंगपुरका नागरिकहरु शिवम लेयर्स फार्मका कारण प्रत्यक्ष रुपमा प्रभावित छन् ।

पटेर्वासुगौली गाउँपालिका–२ का वडाध्यक्षका प्रत्यासी नौसाद अंसारी यस कम्पनीका कारण यस क्षेत्रका स्थानीयबासिन्दालाई दैनिकी कटाउन निकै कठिन भएको गुनासो गर्छन् ।
फार्मबाट निस्किएको दुर्गन्धका कारण वातावरण प्रदूषित भइ झिंगा भन्किने तथा लामखुट्टेको आतंकले हैरान भएको र शान्तिपूर्ण रुपले दैनिकी गर्न नपाएको उनले बताए । कुनै भोजभतेर आयोजना गरे झिंगाकै कारण पाहुनाहरुसमेत नखाइ फर्किने गरेको उनले जनाए ।

यस्तै यस क्षेत्रमा विवाह गरी ल्याउन कुनै अभिभावकले छोरी नदिने नमान्ने कति घटनाहरु रहेको अन्सारी बताउँछन् । खाना खाने समयमा समेत झिंगा वरिपरि भन्किने हुँदा त्यसलाई धपाएर खानुपर्ने बाध्यता रहेको उनी सुनाउँछन् । कतिपय समयमा त खानामै झिंगा पस्ने हुँदा त्यसलाई फाल्नुपर्ने अवस्था समेत आएको स्थानीयको गुनासो छ ।

प्रदूषित वातावरणसँगै झिंगा भन्किएको खाना खानुपर्दा त्यस क्षेत्रमा बासिन्दाहरु कुनै न कुनै रोगले ग्रसित छन् । उनीहरुमा झाडापखाला, ज्वरो, छालाका रोग जस्ता समस्या सधैझै हुन्छ । फार्मकै कारण त्यस क्षेत्रमा विद्यालय तथा स्वास्थ्य संस्थाहरु समेत स्वच्छ छैनन् ।

कि त फार्मलाई बन्द गराउनु पर्ने वा आफूहरुलाई अन्यत्र सार्न पालिका लगायत सम्बन्धित निकायसँग उनीहरुले माग गरेका छन् । सहनै नसकिने दुर्गन्ध र बढ्दो गर्मीमा गाउँबस्ती भर यत्रतत्र झिंगा भन्किदा मर्नु, न बाँच्नुको अवस्था उनीहरुको छ । फार्मको ५ किलोमिटर आसपासका गाउँहरुमा भोजभतेर आयोजना गर्न नमिल्ने र आयोजना गरीहाले पाहुनाहरुको सहभागिता न्यून रहने स्थानियको भनाई छ ।

झिंगा र फोहोरका कारण घरमा आएर खान नमान्ने गाँउकार्यपालिका सदस्य सबिना बिकले स्विकारिन् । उनी भन्छिन्, ‘जाडो मौसममा झिंगा कम हुन्छ । अहिले गर्मी बढेपछि झिंगा पनि खै कहाँबाट आउँछ । गतवर्षको तुलनामा भने अहिलेसम्म झिंगा कमै रहेपनि प्रदूषणले भने असाध्यै गाह्रो बनाएको छ ।’

फार्मबाट निस्किने प्रदूषण फोहोरका कारण त्यस आसपासका बासिन्दामा विभिन्न प्रकारका स्वास्थ्य समस्याको जोखिम रहेको पटेर्वासुगौली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादवले जानकारी दिए । झाडापखाला, टाउको दुख्ने, भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धि समस्याले पीडित हुनुका साथै कतिपयमा प्राणघातक रोग पनि हुन सक्ने उनले बताए ।

यस विषयमा पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश कुमार चौधरीले कम्पनीलाई सरसफाई मापदण्ड बमोजिम चलाउन भनेको बताए । कम्पनीका लागि पालिकाबाट हुने सिफारिस, वातावरणीय मूल्यांकन नविकरण लगायतका अन्य कागजात रोक्का गरिएको उनको भनाइ छ ।

कम्पनी स्थापनाका लागि पालिकाका पहिलेका जनप्रतिनिधिहरुले सिफारिस दिएको र त्यसकारण कम्पनी बन्द गर्ने प्रक्रिाय चलाउन नमिलेको उनले जानकारी दिए । आफूहरुले कम्पनीको कडा रुपले निगरानी समेत गरिरहेको अध्यक्ष चौधरीले बताए ।


सम्बन्धित समाचार