Logo

११ जेठ, ठोरी । पर्सा ठोरीका मकैबारीमा अचेल सुगा धपाउन राखिएका ध्वजा र बुख्याचाले बारी नै ढाकिएका छन्। तैपनि किसानलाई सुगाले दिएको सास्ती भने घटेको छैन ।

दाना लागेको मकैको घोगालाई सुगाले खाएर दिक्क पार्न थालेपछि यहाँका मकै खेती गरेका किसानले प्रचण्ड गर्मीमा पनि घरमा बस्न पाएका छैनन्। दिउँसोको तुलनामा बिहान र बेलुका मकैबारीमा पस्ने सुगाको बथानले एकैछिनमा मकैको घोगामा क्षति पुर्याउने गरेको किसानको दुखेसो छ ।

तारबार गर्न समेत नमिल्ने र हेर्दा चरा भएपनि ठुलो क्षति पुर्याउने भएकोले सुगाले हैरान बनाएको ठोरी –२ का किसान मुकुन्द ढुङ्गेलले बताउनुभयो । सुगा धपाउन किसानले मान्छेको जस्तै आकृति बनाएर खेतभरी नै बुख्याचा राखेका छन्। कतिपयले झण्डा र कतिपयले छाता समेत ओढाएर राखेका छन्। तरपनि बथानमा आउने सुगाको आतङ्क नघटेको सोही गापाको वडा ४ का किसान मान बहादुर तामाङले सुनाउनुभयो ।

सुगा रोकथाम र नियन्त्रणका लागि कुनै खास योजना र प्रविधि गाउँमा छैन्। किसानलाई उखरमाउलो घाम र प्रचण्ड गर्मीमा पनि सुगा धपाउन बारीमा नै बस्नुपर्ने बाध्यता यहाँका किसानलाई छ । सिँचाइ सुविधाको विस्तारसंगै गापामा हिँउदे मकै बाली लगाउने किसानको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तर जङ्गली जनावरको त्रास त ठोरीमा सामान्य नै हो तर सुगाको समेत गोठालो गर्नुपर्ने भएपछि दिक्क लाग्न थालेको किसानहरु गुनासो गर्छन्। परिवारमा सदस्य कम भएका कतिपय किसानको बारीमा पालो दिने मान्छे समेत नहुँदा बारीमा सुगालाई हाहा भन्दै दिन बित्छ ।

’घरमा पालो दिने कोही छैनन , एकजना घर धन्दामा नै ठिक हुन्छ ।’ , ठोरी –४ का किसान रत्न तामाङको गुनासो छ ।
बारीमा सुगा धपाउनका निमित्त किसानले खेतमा पुरानो टिन बजाउने गरेका छन । तर पछिल्लो समय सुगा पनि अटेरी बन्दै गएको र टिन बजाउँदा समेत भाग्न छोडेको किसानहरु सुनाउँछन् । ठोरी क्षेत्रमा मकैमा घोगा लाग्न थालेसंगै ठुलो सङ्ख्यामा सुगाहरु मकै बाली खान आउने गरेका छन्। यो सङ्ख्या वर्षेनी बढ्ने गरेको किसानहरुको अनुमान छ ।


सम्बन्धित समाचार