Logo

१९ जेठ, वीरगञ्ज । पर्यटकीय नगरीको रुपमा चर्चामा रहेको पर्साको पश्चिमी गाउँपालिका ठोरीमा सामुदायिक होमस्टे निर्माण गर्ने क्रम बढ्दै गएको छ ।

गाउँपालिकाको वडा २ को सुन्दरवस्ती र वडा ५ को ठुलोबाघमोर्चामा सामुदायिक होमस्टे निर्माण प्रक्रिया अघि बढेपछि ठोरी गाउँपालिका मात्र ४ ओटा सामुदायिक होमस्टे सञ्चालन हुन लागेका हुन्। हाल पालिकामा ठोरी १ मा तीनघरे सामुदायिक होमस्टे र सुवर्णपुरमा सुनाखरी मध्यवर्ती होमस्टे सन्चालनमा छन्।

तामाङ समुदायको शतप्रतिशत घरधुरी रहेको ठूलो बाघमोर्चामा ठोरी गाउँपालिकाका पूर्व अध्यक्ष पदमलाल श्रेष्ठले शुक्रवार सामुदायिक होमस्टेको शिलान्यास गरेका छन् । उनले बितेको जेठ ९ गते ठोरी –२, सुन्दरवस्तीमा पनि सामुदायिक होमस्टेको शिलान्यास गरेका थिए । दुबै सामुदायिक होमस्टे निर्माणका लागि मधेस प्रदेश सरकारले चालू आर्थिक वर्षमा २०÷२० लाख बजेट विनियोजन गरेको छ ।

सो बजेटले दुबै ठाउँमा कोठाभित्र नै शौचालय र बाथरूम सुविधासहितको २/२ कोठाको ४÷४ ओटा भवन निर्माण हुने छन्। चालू आर्थिक वर्षमा प्राप्त बजेटले होमस्टे पूर्ण रुपमा निर्माण सम्पन्न नहुने भएपनि आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको ठोरी–५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चनले जानकारी दिए ।

मधेस प्रदेश सरकारको उद्योग, पर्यटन र वन मन्त्रालयमा तत्कालीन मन्त्री सुनिता यादव र राज्य मन्त्री रहबर अन्सारी हुँदा ठोरीको पर्यटन विकासको लागि बजेट निकासा गरेको पूर्व गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । यता सुनाखरी मध्यवर्ती सामुदायिक होमस्टेका अध्यक्ष शम्भुराम पौडेलले सन्चालनमा रहेको होमस्टे प्रवर्द्धनका निमित्त प्रदेश सरकारले बजेट छुट्याएको भएपनि छुट्टै समिति निर्माण गरेर होमस्टे निर्माण थालिएको प्रतिक्रिया दिए ।

ठूलो बाघमोर्चामा आफू नेतृत्वको समितिले होमस्टे व्यवस्थापन गर्न व्यवहारिक हिसाबले पनि कठिन हुने भएकोले छुट्टै समिति बनाएर नै होमस्टे निर्माण थालिएकोमा सकारात्मक रुपमा लिएको पौडेलको भनाइ छ । तामाङ संस्कृति संरक्षण र प्रचारप्रसार एवम् पर्यटन विकासका निमित्त ठूलो बाघमोर्चाको होमस्टेको महत्वपूर्ण भुमिका रहने पूर्व अध्यक्ष श्रेष्ठको विश्वास छ ।

बाघमोर्चा मन्दिरसंगै जोडिएको र पर्सा राष्ट्रिय निकुञ्ज किनारमा अवस्थित शतप्रतिशत तामाङ समुदायको बसोबास क्षेत्र भएकोले पर्यटक भित्र्याउन सकिने वडाध्यक्ष अष्ट बहादुर लोप्चनको भनाई छ। नजिकै जङ्गल, सहज सडक पहुँच, बाघमोर्चा मन्दिर, एउटै मात्र संस्कृतिको अवलोकन गर्न सकिने भएकोले पर्यटन विकासमा ठ्रूलोबाघमोर्चाको होमस्टेले योगदान पु–याउने उनले बताए ।

उता राईधारा , सेतो पहाड, सीता गुफा जस्ता चर्चित क्षेत्र एवम् ठोरी गाउँपालिकाले निर्माण गर्न लागेको ठोरी पार्क समेत नजिकै भएकोले सुन्दरवस्ती होमस्टेमा सहजै पर्यटक भित्र्याउन सकिने स्थानीय अगुवाहरु बताउँछन्। होमस्टे शिलान्यासका दिन ठोरी–२ का वडाध्यक्ष अमृतकृष्ण सापकोटाले पर्यटन विकासको निमित्त वडा कार्यालयले अभियान थाल्ने प्रतिबध्दता समेत जनाएका थिए ।

नयाँ होमस्टे निर्माणको क्रम बढेपनि ठोरीमा हाल सन्चालनमा रहेका होमस्टेहरुमा पनि पर्यटक धेरै दिन नबस्ने समस्या छ । भौतिक पुर्वाधारका दृष्टिले मधेसकै पहिलो होमस्टे सुवर्णपुरको होमस्टेमा खासै कुनै समस्या नभएपनि पर्यटकको बसाई अवधी लम्ब्याउन नसकिएको अवस्था छ ।

तुलनात्मक रुपमा अघिल्ला वर्षको तुलनामा पर्यटकीय गतिविधि बढेको भएपनि पर्यटकीय गन्तव्यको स्थितिमा सुधार नहुँदा पर्यटकको बसाई अवधि लम्ब्याउन नै नसकिएको होमस्टे व्यवस्थापन समिति अध्यक्ष शम्भुराम पौडेलले बताए । उता ठोरी–१ मा रहेको विशुध्द मगर संस्कृतिको अवलोकन गर्न सकिने तीनघरे सामुदायिक होमस्टेमा पर्यटक नआएको नै ६ महिना हुन लागेको छ ।

जाडोमा फाटफुट पर्यटक बास बस्न आएको भएपनि गर्मी सुरु भएपछि पर्यटक आउन छोडेको सो होमस्टे व्यवस्थापन समिति अध्यक्ष चेत बहादुर थापाले बताउनुभयो । खानेपानीको समस्या रहेको सो होमस्टेमा जेनतेन पालिकाको पहलमा खोलाबाट पानीको व्यवस्था गरेको भएपनि विद्युत प्राधिकरणको वेवास्ताको कारण पर्यटन व्यवसाय नै संकटमा परेको छ ।

सो होमस्टेमा थ्री फेज लाईन नभएकोले पङ्खा लगायतको विद्युतीय उपकरण नै राम्रोसंग चल्दैन । जसका कारण गर्मीमा पर्यटकलाई राख्न नै नसकिने अध्यक्ष थापाको गुनासो छ । १० ओटा घरमा होमस्टे सन्चालनमा रहेको तीनघरे गाउँमा लाईनकै समस्याको कारण पर्यटकले फोन गरेपनि गर्मीमा पर्यटकलाई राख्न नै नसकिने अवस्था रहेको उहाँले बताए ।

ठोरीको भगवाननगर हुँदै पुगिने सो होमस्टेमा २०८० सालमा मुस्किलले ३५/४० जना पर्यटकले बास बसेको अध्यक्ष थापाले जानकारी दिए । थ्री फेजको लाईनको व्यवस्था भए अहिले गर्मीमा पनि होमस्टे सन्चालन गर्न सकिने अध्यक्ष थापाको भनाइ छ ।
क्रमशः ठोरी–२, सुन्दरवस्ती र ठोरी–५, ठुलोबाघमोर्चामा सामुदायिक होमस्टे भवन शिलान्यास गर्दै पूर्व गापा अध्यक्ष पदमलाल (पीएल) श्रेष्ठ।


सम्बन्धित समाचार