Logo

२६ जेठ, बारा ।  जीतपुरसिमरा उपमहानगरपालिकामा एक जना प्रहरी साहयक निरिक्षक (असई) सहित १३ जना नगर प्रहरी आधारभुत तालिम सकिएर आईतबार देखि फिल्डमा खटिने भएका छन् ।

उपमहानगरपालिकाले सशस्त्र प्रहरी बल ४० न गण पिलुवामा एक महिना तालिम लिएका नगर प्रहरीलाई शुक्रबार दर्जान्ही चिन्ह(फुली)र प्रमाणपत्र प्रदान गरिएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाले लिखित, शारीरिक र अन्तर्वार्ताबाट भर्ना लिएका १३ जना नगर प्रहरीलाई सार्वजनिक सुरक्षा, भीड, दंगा नियन्त्रण, विपद् व्यवस्थापन तालिम, जनसम्पर्क, आपतकालीन सेवा लगायत विषयमा एक महिना तालिम दिन सशस्त्र प्रहरीको क्याम्पमा पठाएको थियो ।तालिम लिएका नगर प्रहरीको छनोट पनि सशस्त्र प्रहरी बलमार्फत् नै भएको थियो ।

नियुक्त भएर तालिम प्राप्त नगर प्रहरीलाई मेयर राजन पौडेलले प्रमाणपत्र दिएसँगै आईतबारबाट काममा खटिने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।मेयर पौडेलले नगरवासीको सेवाका लागि नगर प्रहरी करारमा नियुक्त गरिएको जानकारी दिए ।

 

नगर प्रहरी थप गरिएपछि नगर विकासका लागि पनि सहयोग हुने पुग्ने दाबी गरे । नगर प्रहरीले विकास निर्माण र नगरवासीको हितका लागि काम गर्ने विश्वास उनको थियो । जीतपुरसिमरा उपमहानगरपालिकामा नगर प्रमुख पौडेलले १३ जना नगरप्रहरी राखेर नगर प्रहरी राख्ने कार्यको सुरुवात गरेका छन् ।

नगर प्रहरी पास आउट तालिममा बोल्दै ४० न गण पिलुवाका गणपति सशस्त्र प्रहरी उपरिक्षक मोहन बहादुर क्षेत्रीले उपमहानगरले आफ्नो गण भित्र तालिम प्रदान गर्ने अवसर दिएकोमा उपमहानगरलाई धन्यवाद ज्ञापन गरे ।

जीतपुरसिमरा उपमहानगरपालिकाले नगर प्रहरीको लागि दर्खास्त परेको मध्य १२ जनालाई छनौट गरेर सशस्त्र प्रहरी बल नेपाल ४० न गण पिलुवाको परिसरमा बैशाख २० गते देखि तालिम दिदै आएको थियो ।

नगर प्रहरीलाई प्रशिक्षण दिएका सशस्त्र प्रहरिलाई उपमहानगरले सम्मान समेत गरेको छ ।

उक्त पास आउट तालिम समापन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिका–१६ का वडाध्यक्ष हरिदेव खरेल, जीतपुरसिमराका प्रशासन शाखा प्रमुख रामेश्वर बन्जारा,सशस्त्र प्रहरीहरु लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार