Logo

३० जेठ,ठोरी । पर्साको ठोरी गापा –२ मा जैविक विविधता संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

निर्मलठोरी मध्यवर्ती उपभोक्ता समितिको आयोजना एवम् तराई भूपरिधी कार्यक्रम ( ताल) को सहयोगमा सम्पन्न कार्यक्रममा जैविक विविधता संरक्षणको सवालमा मानव समुदाय गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए । पछिल्लो समय बढ्दै गएको पृथ्वीको तापक्रम न्युनिकरण गर्न र जैविक विविधता संरक्षण गर्न वनजङ्गलको संरक्षण नै अन्तिम विकल्प भएको सहभागीहरुको धारणा थियो ।

यस्तै कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले निकुञ्जको मौजुदा ऐननियम जनमैत्री हुन नसकेको बताउँदै संरक्षण र उपयोगको पाटोमा स्थानीय सरकारको पनि सहभागिता हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा ठोरी गापाका अध्यक्ष लाल बहादुर श्रेष्ठले संरक्षणमा नेपाली सेना र कर्मचारी भन्दा स्थानीय जनता बढी सक्रिय हुँदासमेत निकुञ्ज प्रशासनले कडाइ गर्दा जनतामा निकुञ्जप्रति नकारात्मक धारणा बन्दै गइरहेको विचार व्यक्त गर्नुभयो ।

निकुञ्जको अव्यवहारिक नीतिनियम र शैलीको कारण स्थानीय सरकारलाई मध्यवर्ती क्षेत्रका गाउँमा विकास गर्न नै कठिनाइ भएको बताउनुभयो । कतै न कतै निकुञ्जको कर्मचारी प्रशासनको कारण स्थानीयलाई समस्या भईरहेको बताउँदै प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष श्रेष्ठले निकुञ्जसंग संगै मिलेर काम गर्न पालिका तत्पर भएपनि निकुञ्जकै कारण करौडौंको पर्यटन विकासका बजेट फ्रिज भएको बताउनुभयो यस्तै आफ्नो स्वामित्वमा रहेको खेतबाट माटो झिक्न समेत निकुञ्जलाई सोध्नुपर्ने अवस्था अत्यन्त दुःखद भएको उहाँको भनाई थियो ।

यस्तै ठोरी गापाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मीले ठोरीका स्थानीयले लामो समयदेखि संरक्षणमा प्रतिवद्ध भएर काम गर्दा पनि स्थानीयले वन पैदावार र गिट्टीबालुवा जस्ता नदीजन्य पदार्थको प्रयोग सहज ढङ्गले गर्न नपाउनु दुःखद भएको बताउनुभयो । कतिपय अवस्थामा स्थानीय सरकारले पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम गर्न खोज्दासमेत निकुञ्ज बाधक बन्ने गरेको उहाँको भनाई थियो ।

सो अवसरमा ठोरी –२ का वडाध्यक्ष अमृतकृष्ण सापकोटाले मध्यवर्ती क्षेत्रमा संरक्षणमा लागेको समय भएपनि निकुञ्जको वनपैदावर र नदीजन्य पदार्थको उपभोगमा जनताले सास्ती भोग्नुपरेको गुनासो गर्नुभयो । करौडौंको सम्पत्ति बगेर भारत जाँदासमेत निकुञ्जको अव्यवहारिक नीतिनियमकै कारण अब निकुञ्ज विरुद्ध नै आन्दोलन गर्नुपर्ने स्थिति आइपरेको उहाँको भनाई रहेको थियो ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली , रेन्जर लगायतले आफ्नो भनाइ राखेका थिए । निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बाल कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ , निर्मल ठोरी उपभोक्ता समितिका सदस्यहरु , सामुदायिक वनका प्रतिनिधिहरु , नेपाली सेना लगायत संरक्षणकर्मीहरुको सहभागिता थियो ।


सम्बन्धित समाचार