Logo

३१ जेठ, काठमाडौं । मध्य र पश्चिम तराईमा अत्यधिक गर्मी छ । तराईमा तातो हावाको लहर अर्थात लू चलेकाले जनजीवन कष्टकर बनेको छ ।

पश्चिम तराईमा सबैजसो ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । धनगढीको तापक्रम ४३ दशमलव ९ डिग्री र नेपालगञ्जको तापक्रम ४२ दशमलव २ डिग्री सेल्सियससम्म पुगेको छ । काठमाण्डौको तापक्रम ३४ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ ।

कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन देशका अरु ठाउँमा पुग्न अझै केही दिन लाग्ने भएकाले गर्मी कायमै रहने मौसमविदले बताएका छन् ।

मनसुनी प्रणाली प्रवेश गरिसकेको भए पनि देशका धेरै ठाउँमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । मनसुन काठमाण्डौ उपत्यका हुँदै पश्चिम नेपालसम्म नफैलिएसम्म चर्को गर्मी नहट्ने मौसमविद् गोविन्द झाले बताए ।

मनसुनी प्रणाली अझै पनि कोशी प्रदेशबाट अघि बढ्न सकेको छैन । अहिले मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु नै बलियो छ । पश्चिमी वायु बलियो भएकैले भारततर्फबाट तातो हावा आइरहेको मौसमविद गोविन्द झाले बताए ।

डाक्टरहरुले तातो हावाको लहरबाट जोगिन गर्मीको समयमा घरभित्र र चिसो ठाउँमा बस्न, घाममा सकेसम्म नजान, बाहिर निस्कँदा टोपी लगाउन, नियमित रूपमा पानी तथा तरल पदार्थ पिउन र स्वास्थ्यमा समस्या देखिएमा डाक्टरहरूसँग परामर्श गर्न सुझाव दिएका छन् ।


सम्बन्धित समाचार