Logo

वीरगन्ज, १० पुस । ब्रिटिस भारतीय सेनालाई पराजित गर्दै एतिहासिक जित हाँसिल गरेको स्थानमा पुस १९ गते २०८ औ विजय महोत्सव मनाईने भएको छ । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ६ मा पर्ने गढीमा पुस १९ गते विजय हासिल गरेको दिनको सम्झनामा विजय महोत्सव मनाउन लागिएको हो ।

पर्सागढी मन्दिर व्यावस्थापन समितिले हिजो पत्रकार सम्मेलनको अयोजना गर्दै वि.स १९८१ पौष १९ गते कुशल युद्ध निती तथा स्थानीयबासीको सक्रिय सहकार्यले गोर्खाली सेनाले ब्रिटिस भारतीय सेनालाई पराजित गरेको दिनको सम्झनामा विजय उत्सव मनाउने जानकारी गराएको थियो ।

युद्धमा विदेशी सेनालाई पराजित गरी विजय हाँसिल गर्ने पर्सा जिल्लाको एकमात्र स्थल पर्सागढी राज्यको उपेक्षा परेकोले त्यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि दबाव स्वरुप पनि कार्यक्रमको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा पर्सागढी मन्दिर व्यावस्थापन समितिका अध्यक्ष बृजमोहन चौधरीले बताउनुभयो ।

पत्रकार सम्मेलनमा पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले ऐतिहासिक स्थल गढीको व्यावस्थापन र विकासका लागि स्थानीय सरकारले चासो लिएको बताउदै जग्गामा केही समस्याहरु देखिएकोले त्यसलाई समाधान गरेर छुट्टै गढी व्यावस्थापन समिति नै गठन गरेर त्यसलाई विकास गर्न सकिने बताउनुभयो ।

पर्यटन पूर्वाधार विकासका लागि जग्गा सरकारी स्वामित्वमा ल्याउन सकिए विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) नगरपालिका आफैले बनाएर लगानीको खोजी गर्ने नगर प्रमुख पाठकले बताउनुभयो । दुश्मनलाई परास्त गरेको ऐतिहासिक थलो हुँदाहुँदैपनि राज्यको नजरमा छायाँमा परेको पर्सागढीलाई विकास गर्नलाई स्थानीय तहले सक्दो पहल गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पर्सागढी मन्दिर व्यावस्थापन समितिका अध्यक्ष बृजमोहन चौधरीले राष्ट्रिय सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण स्थानको रुपमा रहेको पर्सागढीको विकासमा तीनवटै तहको सरकारको नैतिक जिम्मेवारी र दायित्व रहेको बताउनुभयो ।

राज्यको उपेक्षाले, जितेर पनि नेपालको राष्ट्रिय विभूति र इतिहासमा नाम लेख्नका लागि अंग्रेजसँग हार्नै पर्ने रहेछ भन्ने महशुस गराएको अध्यक्ष चौधरीले बताउनुभयो । इतिहासमा भएका लडाईहरु अन्र्तराष्ट्रिय नभई अन्तरदेशीय सत्ता सघंर्षका लागि रहेको प्रमाणित भईसकेकोले यसको विकासमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

वडा नं. ६ हरपुरको कार्यालय र पर्सागढी मन्दिर व्यवस्थापन समितिको आयोजना एवं पर्सागढी नगरपालिकाको समन्वयमा महोत्सव सम्पन्न हुने हिजो जारी गरेको विज्ञप्तीमा उल्लेख छ । महोत्सवमा नेपाली सेनाको समेत उपस्थिती रहने जनाइएको छ ।

त्यस्तै युद्ध स्थलदेखि ७५ मिटर पूर्वमा रहेको सिगांही खोलामा पक्की पुल निर्माण नहुदाँसम्म त्यस क्षेत्रको द्रुत बिकास असम्भव रहेको उल्लेख छ । स्थानीय, प्रदेश र केन्द्रीय तीनै तहका सरकारसगँ पुल निर्माणको लागि पहल गरिदिन सरोकारवालाले आग्रह गरेका छन् ।

पालिकाले विजय महोत्सवको अवसरमा विभिन्न झाँकी एवं गाजाबाजा सहितको पदयात्राको आयोजना गरिने आयोजकले जनाएको छ । विजय महोत्सव कार्यक्रम सभ्य र भव्य रुपले सम्पन्न गराउन सबै पक्षलाई सहयोग गर्न आग्रह गरिएको छ ।


सम्बन्धित समाचार