Logo

२८ भदौ, काठमाडौँ । आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सेप्सिस भनेको शरीरको कुनै अङ्गमा भएको सङ्क्रमणले उत्पन्न हुने अवस्था हो, जसले सङ्क्रमण फैलिँदै शरीरका अरु महत्त्वपूर्ण अङ्गहरूलाई पनि असर गर्छ ।

यसलाई शरीरमा रोग विरुद्ध लड्ने तत्वहरु वा रोग प्रतिरोधात्मक क्षमताले रोगसँग लड्दा उत्पन्न हुने एक किसिमको शारीरिक प्रतिक्रियाको रुपमा पनि बुझ्न सकिन्छ । यो प्रतिक्रियाले ल्याउने परिवर्तनहरुले शरीरका विभिन्न अङ्ग प्रणालीहरुलाई आक्रमण गरेर तिनलाई निस्तेज तुल्याउन सक्छ, जुन सेप्सिसको विकराल अवस्था हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार सेप्सिसको समयमा उपचार नभए अरु अङ्गहरूमा क्षति पुर्‍याउन सक्छ । बदलिँदो जीवनशैली, बढ्दो प्रदूषण, अनावश्यक एन्टिबायोटिकको प्रयोग, पौष्टिक आहारको कमी र फास्टफुडको अत्यधिक सेवनका कारण मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै गएकाले सेप्सिसको जोखिम अझै बढिरहेको उहाँले बताउनु भयो ।

नेपालमा हरेक वर्ष आईसीयूमा भर्ना हुने बिरामीमध्ये ३० प्रतिशतको सेप्सिसका कारण ज्यान जाने गरेको डाक्टरहरु बताउँछन् । सेप्सिसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, मुटुको गति कम हुने, पिसाबको मात्रा घट्ने र जन्डिसजस्ता समस्या देखा पर्ने डाक्टर बुढाथोकी बताउनुहुन्छ ।

जेष्ठ नागरिक, बालबालिका, दीर्घरोगी र रोगप्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिहरूमा यसको जोखिम बढी हुन्छ । यसबाट जोगिनको लागि सन्तुलित र पौष्टिक आहार खान तथा शरीरमा घाउ, सङ्क्रमण या कुनै लक्षण देखा परेमा तुरुन्तै स्वास्थ्य संस्थामा गएर उपचार गर्न डाक्टरको सल्लाह छ ।


सम्बन्धित समाचार