Logo

१६ असोज,लहान । नेकपा (एमाले) लहान नगरकमिटीले १६ बुँदे मागहरु राखी लहान नगरप्रमुख महेशप्रसाद चौधरीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेकपा (एमाले) लहान नगर कमिटीले यसभन्दा अगाडि पटक–पटक जनहित विपरीत काम नगर्न प्रेस विज्ञप्ति जारी गरी सचेत गराउँदा गराउँदै पनि जनचाहना विपरीत काम भइरहेकाले नगर कमिटीले ज्ञापनपत्र बुझाएको नगर कमिटीका अध्यक्ष राजकुमार साहले बताए ।

उहाँका अनुसार हिजो मङ्रगलबार नगरप्रमुख महेशप्रसाद चौधरी र उपप्रमुख राम चलितर महतोलाई संयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा खुटी नहर सञ्चालनका लागि पूर्व नगरप्रमुख मुनि साहको कार्यकालमा आठ करोड ७२ लाखको लागतमा निर्माण भएको हेडवर्क्सलाई प्रयोगमा ल्याई दसवटा वडाका एक हजार विघा जग्गामा सिँचाइ हुने नहर सञ्चालनमा आउनुपर्ने, सहरी क्षेत्रबाट गएको नहरलाई ड्रेन निर्माण गर्ने निर्णय फिर्ता लिनुपर्ने लगायत माग छन् ।

त्यस्तै, किसानहरुलाई मलखाद उपलब्ध गराउनुपर्ने, किसान परिचयपत्र वितरण गर्नुपर्ने, नयाँ सिँचाइ कृषिमिटर खुल्ला गर्नुपर्ने, गाउँलाई सहरसँग जोडने पक्की सडक निर्माण कार्य सुरु गर्नुपर्ने, सलहेस सर्किटदेवीदह, भवरापार्क झण्डापार्कको काम पूरा गर्नुपर्ने र चाडपर्वको मुखमा सडक वत्ति जडान गर्नुपर्ने १६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको साहले बताए ।

नेपाली काँग्रेस सिरहा जिल्ला कार्यसमिति सदस्य रामसुन्दर चौधरीले किसानको हक हितमा निर्माण भएको हेडवक्र्स कार्यलाई सञ्चालनमा ल्याउनुलाई प्राथमिकता राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको पहलमा किसानको माग अनुसार २०४८ सालदेखि नै खुटी नहर सञ्चालनका लागि निकै पहल भएको छ ।’

खुटी नहर सञ्चालनको माग राख्दै लहान नगरपालिका –११ का धर्मराज चौधरीको संयोजकत्वमा १०५ सदस्यीय सङ्घर्ष समिति गठन गरेर ज्ञापनपत्र बुझाइएको छ । यता लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले एमालले बुझाएको ज्ञापनपत्र अनुसार अधिकांश काम अघि बढिसकेको बताए ।


सम्बन्धित समाचार