Logo

१७ असोज, वीरगञ्ज । प्रसौनी उद्योग वाणिज्य संघको दोस्रो सधारणसभा सम्पन्न भएको छ । साधारणसभा उद्घाटनका अवसरमा सहभागी उद्योगी व्यापारीका अगुवाहरुले अहिले चाडपर्वको मुखमा बजार अनुगमनका नाममा नियामक निकायले व्यापारीहरुले अनावश्यक दुःख दिने काम गरेको भन्दै असन्तुष्टि प्रकट गरेका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहभागी रहेको कार्यक्रममा व्यापारीका नेताहरुले अनुगमनका नाममा व्यापारीलाई अतंकित बनाउने काम भइरहेको बताएका हुन् । बारा र पर्साका स्थानीय बजारमा अहिले अनुगमनको आतंक देखिएको र त्यसबाट वैध व्यापार गर्ने व्यवसायीहरू बढी प्रताडित भएको उनीहरुले बताए ।

बुधबार बाराको प्रसौनीमा भएको साधारणसभा उद्घाटन समारोहमा सहभागी वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले अवैध व्यापारलाई निरुत्साहित गर्नुपर्नेमा वैध कारोबार गर्ने व्यापारीलाई दुःख दिने काम बढी भएको आरोप लगाए । प्रहरी प्रशासनको यो रवैयाप्रति उनले असन्तुष्टि जनाए ।नेपालीहरूको चाडपर्व दशैं शुरू हुन लाग्दा बजारमा अनुगमनका निकायले व्यवसायीहरूलाई आतंकित बनाएको अध्यक्ष अग्रवालले बताए ।

चाडबाडका बेला अनुगमनका कारण व्यापारीहरू आआफ्नो व्यवसाय बन्द गरेर भाग्ने अवस्था आएको जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले बताए । बजार अनुगमनका खटिएका कर्मचारीले शुरूमा ५ हजार जरीवाना गर्छु भन्ने गरेको र व्यापारीले प्रतिवाद गर्दा अनुगमनका खटिएका कर्मचारीले ३ लाख रुपैयाँ तिराउँछु भनेर धम्की दिने गरेको उनले बताए ।

बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले आफूहरूले उपभोक्ताको हितलाई समेत ध्यानमा राखेर काम गरिरहेको स्पष्ट पार्दै व्यापारीले पसलमा म्याद सकिएको सामान बेच्ने अनि कारवाही भयो भनेर गुनासो गरिरहेको उल्लेख गरे ।

उनले यसो गर्न नमिल्ने तर्क पनि गरे । व्यवसायीले व्यापार गर्दा उपभोक्ता हित र अधिकारलाई समेत सम्मान गर्न आग्रह गरे । उनले अनुगमनको पूर्वतयारी बैठकमा व्यापारीलाई अनावश्यक हैरानी नपुग्ने गरी अनुगमन गर्न निर्देशन दिएको स्पष्ट पारे । कार्यक्रम प्रसौनी उद्योग वाणिज्य संघका अध्यक्ष तुलसीप्रसाद गुप्ताको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा संघका उपाध्यक्ष युवराज सुवेदीले उद्यमशीलता प्रवद्र्धनका माध्यमबाट देशको अर्थतन्त्रलाई उन्नतिको मार्गमा लैजान सबै निकाय र सरोकारका पक्षबीच सार्थक सहकार्य हुनुपर्ने बताए । कार्यक्रममा प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जयसवालले संघको कार्यालय भवन बनाउन जग्गा प्रदान गर्ने प्रतिबद्धता गरेका थिए । स्थानीय उद्योग प्रवद्र्धनमा सहयोग पुर्‍याएको भन्दै वरिष्ठ उद्यमी सत्यनारायणप्रसाद कलवारलाई संघका अध्यक्ष गुप्ताले सम्मानित गरेका थिए । एसईई परीक्षामा उत्कृष्ट स्थान ल्याउने छात्रछात्रालाई पुरस्कृत गरेका गरिएको थियो ।

उद्घाटन समारोहमा संघका सल्लाहकार मन्त्रीलाल गुप्ताले संघको स्थापनाको पृष्ठभूमिको बारेमा प्रकाश पार्दै प्रसौनीको छवि अब उद्योगमैत्री स्थानमा रुपमा परिणत हुँदै गएको बताए ।

संघका महासचिव केदार गौतमले सहजीकरण गरेको कार्यक्रममा सल्लाहकार भोला गुप्ता, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, गाउँपालिकाका जनप्रतिनिधिहरु, बाराका जनपद र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरु, स्थानीय समाजसेवी, सञ्चारकर्मीलगायतको सहभागिता थियो । सो कार्यक्रममा स्थानीय विद्यालयका बालबालिकाले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।


सम्बन्धित समाचार