Logo

१७ असोज,वीरगञ्ज । विश्व प्रसिद्ध नेपाली युवा व्यावसायी निल डेभिडले सुरु गरेको सैलुन व्यावसायको विस्तारै अन्य युवाहरुमा पनि आकर्षण बढ्दै गएको छ । निल डेभिडको फ्रेन्चाईज हेयर सैलुन वीरगञ्जमा सञ्चालनमा आएको छ ।

वीरगञ्जको लिंक रोडमा सञ्चालनमा आएको सैलुनको कर्पोरेट डेभेलपमेण्ट बैंकका निर्देशक र नसरुद्दीन अन्सारी र प्रमुख कार्यकारी अधिृकत विपिनराज पोखरेलले उदघाटन गरेका छन् । पर्साको धोविनी गाउँपालिका वडा नम्बर ५ का युवा राज महम्मद मियाँले सैलुन सञ्चालनमा ल्याएका हुन् ।

विगत ११ बर्ष लामो सैलुन पेशामा अनुभव बटुलेका राज महम्मदले वीरगञ्जमा पहिलो पटक ठूलो लगानीको सैलुन स्थापना गरेका छन् । एकदशक लामो सैलुनको काममा अनुभव रहेको उनले सातावटा काठमाडौंमा सैलुन खोलेका थिए । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणले उनको व्यावसायमा पनि धक्का लाग्यो । त्यसपछि उनी गाउँ फर्किए ।

तरपनि उनले हिम्मत भने हारेका छैनन् । उनी वीरगञ्जमै अन्तराष्ट्रिय फ्रेन्चाईज निल डेभिडको प्रमाणपत्र लिएर सेवा सुरु गरेका छन् । विश्वस्तरको सञ्जाल रहेको निल डेभिडसँग राज महम्मदले लामै समय विदेशमा बसेर काम गरेका छन् । त्यसले पनि उनलाई आत्मविश्वास बढाएको छ ।

राजमहम्मदले सिंगापुरमा रहेको निल डेभिडको ब्युटी सैलुनमा २३ महिना काम गरेका छन् । त्यहाँ मात्रै होईन क्यानडामा समेत ७ महिना काम गरेर नेपाल फर्किएका हुन् । मुस्लीम समुदायका उनी परम्परागत जातीय पेशाको श्रम विभाजन अनुसार कपाल काट्ने जाति कै हुन् । तर, उनको अघिल्लो पुस्ता कसैले पनि यो पेशा अंगालेका छैनन् ।

राज महम्मदले भने उनको आफ्नो जातीय पेशालाई व्यावसायिक रुपमा विस्तार र विकास गरेका छन् । यो आर्थिक संकटको अवस्थामा पनि बैंकबाट ऋण लिएर अन्तराष्ट्रिय सञ्जालको निल डेभिडको फ्रेन्चाईज सैलुन खोल्ने साहस गरेका छन् ।

यो क्षेत्रमा तीन किसिमका ग्राहक हुने उनको बुझाई छ । एउटा सम्पन्न र सुखी धनाढ्य वर्ग, अर्को मध्यम वर्ग र अर्को निम्न मध्यमवर्ग । सम्पन्न र धनाढ््य वर्गहरुले सुविधा सम्पन्न सैलुनहरुमा जाने गर्छन् । मध्यम वर्गले पनि सोही अनुसारको सैलुनहरु हेर्छन् । उनको सैलुन निम्न मध्यम वर्गहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याएको उनी बताउछन् ।

वभिन्न किसिमका अप्ठ्याराहरुलाई समेत पार गर्दै यहाँसम्म आईपुगेका राज महम्मदलाई वीरगञ्जमा आफूले अंगालेको पेशाले राम्रै उपलब्धी हुनेमा आशावादी छन् । उनी भन्छन्, “भूकम्प, कोभिड जस्ता प्राकृतिक विपदहरु लगायत हरेक संकटहरु व्यहोर्दै आएको हामी आफूले गर्दै आएको पेशामा सफल भाईन्छ जस्तो लाग्छ ।”


सम्बन्धित समाचार