Logo

१८ असोज,वीरगञ्ज । मधेस प्रदेश सरकारले सिमलताल बस दुर्घटनाका मृतक परिवारलाई जनही एक/एक लाख रुपैयाँ उपलब्ध गराएको छ । प्रदेश सरकारले सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई एक÷एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हो ।

करिब तीन महिना पछि प्रदेशका चार जिल्लाका ३९ जना मृतक परिवारलाई जनही एक÷एक लाख रुपैयाँको चेक शुक्रवार हस्तान्तरण गरिएको मुख्यमन्त्री सतिस सिंहले जानकारी दिएका छन् ।

सिमलताल बस दुर्घटनामा मधेस प्रदेशबाट धेरै जनाले ज्यान गुमाएका थिए । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सनाखत गरेर पठाएका परिवारलाई मात्र प्रदेश सरकारले अहिले चेक हस्तान्तरण गरेको मुख्यमन्त्री सिंहले बताए ।

उनले भने– ‘जिल्ला प्रशासन कार्यालयहरूले सबैको छानबिन गरेर हामीलाई सूची पठाएको थियो, त्यो सूची अनुसार आज हामीले चेक बनाएर प्रदेशका चारवटै जिल्ला प्रशासन कार्यालयहरूमा पठाइसकेका छौँ । त्यो चेक अब जिल्ला प्रशासन कार्यालयहरूले वितरण गर्नेछन्, पठाएको सूची अनुसार ।’

गत २८ असारमा नारायणगढ–मुग्लिङ सडकस्थित सिमलतालमा दुईवटा बस दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी मधेसका पर्सा, बारा, रौतहट र सर्लाहीका गरी ३९ ले ज्यान गुमाएका थिए । मधेस सरकारका अनुसार पर्साबाट १०, बाराबाट ६, रौटहटबाट १९ र सर्लाहीबाट ४ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए ।


सम्बन्धित समाचार