Logo

२१ असोज, सप्तरी । केही दिन अगाडिको बाढीले घरविहीन भएका सप्तरीका बाढीपीडितलाई शुद्ध खानेपानीको अभाप भएको छ । खानेपानी अभाव र हिलाम्मे घरमा बस्नुपर्ने बाध्यताले उनीहरु समस्यामा परेका छन् ।

कङ्कालिनी नगरपालिकाका स्थानीय बोकाइ सदाले यहाँ शुद्ध खानेपानी नभएकाले अधिकांश बाढीपीडित बिरामी पर्न थालेको बताए। शुद्ध खानेपानीको अभावमा दूषित पानी पिउँदा रुघाखोकी, ज्वरो, बान्ता र झाडापखाला जस्ता लक्षणसहित बिरामी परेको उनले जानकारी दिए। कोशी बाँधमा बसेका बाढीपीडितले कोशीको पानी र ट्यूबेलको पानी खाने गरेका छन् । पानीकै कारण बिरामी परेको हुनसक्ने अनुमान गरिएको छ । सदाले भने, “बच्चा बिरामी छ घरको खाद्यान्न नष्ट हँुदा खाने कुरा छैन । चर्को घाममा खुला ठाउँमा बसेका छौँ ।”

सोही ठाउँका अर्का बाढीपीडित भागवत मुखियाले यस क्षेत्रमा स्वास्थ्यकर्मीको टोली आइनपुगेको बताए। खाद्यान्न सबै नष्ट भएको र राहत सामग्री वितरणमा भेदभाव हुँदा पीडित झन समस्यामा परेको उनको गुनासो छ । उनले भने “बाढी पीडितका लागि राहत सामग्री स्वरुप हालसम्म मुरै, चिउरा र चाउचाउबाहेक केही पाइएको छैन। ”

स्थानीय बाढीपीडित परवेज आलमले धान काट्ने बेलामा आएको बाढीले धान र घरविहीन बनाएको बताए । धानबालीमा क्षति गरेका हुँदा एक वर्षका लागि भोकै बस्नुपर्ने अवस्था आएको उनले गुनासो पोखे । उनले तीनै तहका सरकारलाई सहयोगको याचना गरे । कोशी नदी र जीता खोलाको बाढीका कारण हनुमाननगर कंकालिनीका सयौँ बाढीपीडितको विचल्ली भएको छ ।

हनुमाननर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीले स्थानीय सरकारले बाढीपीडितका लागि शुद्ध खानेपानी, समयमा उपचार र राहत सामग्री वितरण गरिरहेको बताए । तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं। ३, ४, ५ र ७ वडामा पानी पसेपछि स्थानीय समस्यमा परेका छन् ।

बाढीपीडितका लागि गाउँपालिकाको समन्वय तथा युनिसेफको सहयोगमा सबल नेपाल नामक संस्थामार्फत दुई सय ५२ परिवारलाई राहत सामग्री स्वरुप ‘हाइजिन किट’, पानी खानका लागि मग, डोल र झुललगायत वितरण गर्ने तयारी गरिएको उनले जनाकारी दिए ।


सम्बन्धित समाचार