Logo

२६ असोज, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै जानुपर्ने बताएका छन् ।

विजयादशमीका अवसरमा आज शुभकामना दिँदै उनले विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिमार्जन आवश्यक भएको बताए ।

पूर्वप्रधानमन्त्री दाहालले दसैँ पर्वलाई वर्षभरिको सबैभन्दा ठूलो उत्सव एवं पारिवारिक र सामाजिक पुनःमिलनको महत्वपूर्ण अवसरका रूपमा खुसियालीपूर्वक मनाउन सबैमा अपील गरेका छन् ।

विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, मेलमिलाप एवं सहकार्यका निम्ति महत्वपूर्ण योगदान गर्दै आएको जनाउँदै अध्यक्ष दाहालले विश्व परिवेशमा सामाजिक पुनःमिलनको सबैभन्दा ठूलो उत्सव एवं अवसरका रूपमा समेत दसैँ स्थापित हुँदै आएको बताए ।

अध्यक्ष दाहालले विजयदशमी २०८१ ले सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनःमिलन एवं सङ्कटपूर्ण परिस्थितिको सामनासहित शोकलाई शक्तिमा बदल्न थप प्रेरणा र ऊर्जा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गरे ।


सम्बन्धित समाचार