२८ कात्तिक, पर्सागढी (पर्सा) । भोलिदेखि पर्सा र बारा गरी सात ठाउँमा एकसाथ मेला लाग्दै छ ।
भोलि कात्तिक शुक्लपक्षको चतुर्दशी र पुर्णिामाका दिन पर्साका पाँच स्थान र बाराका दुई स्थान गरी सात वन देवी स्थलमा धार्मिक मेला लाग्दै छ ।
पर्साको पर्सागढी नगरपालिका अन्तर्गत आमोदेवी माई र कोईलाभार माई, ठोरी गाउँपालिकाको बाघमोर्चा माई, जिराभवानी गाउँपालिकाको सुगिभार माई, पटेर्वासुगौली गाउँपालिकाको गादीमाई र बारा जिल्लाको करैयामाई र चोईलाभार माईमा हरेक वर्ष झै यसवर्ष पनि एक साथ धार्मिक मेला लाग्दै छ ।
वन देवी माता सात दिदीबहिनी रहेको र सातै दिदी बहिनी स्थलमा परापुर्व काल देखिनै कात्तिक शुक्लपक्ष पुर्णिामाको अवसरमा यसवर्ष यहि बिहीवार राती र शुक्रवार पुर्णिामाको दिनमा मेला लाग्ने गर्दछ ।
शुक्रबार पुर्णिामाको दिन बिहानै बलि दिने समयमा पर्सागढि न.पा. वडा न ४ बकनेर्वा गाउँका मुसहर समुदायले गाउँमा पुजा गरि पाठिको बलि दिने र त्यसपछि बिरुवागाउँ बासीले पुजा गरि पशु बलि दिईन्छ । बडनिहारबासिले पुजा गरी पशुबली दिएपछि सर्वसाधारणहरुलाई पशुबली चढाउने प्रचलन रहेको आमोदेबि मन्दिरका गुरु जुगेश्वर गुरोले बताए ।
त्यसपछि कोईलाभार माई मेलाको पनि सम्पुर्ण तयारी अन्तिम चरणमा रहेको मेला समितिका अध्यक्ष तथा पर्सागढि न पा वडा न १ का वडा अध्यक्ष राजकपुर खवासले बताए ।
उनका अनुसार बिहीवार बेलुका देखि मेला लाग्ने र शुक्रबार पुर्णिामाको दिन बिहान माईको थानमा सखुवाप्रसौनी गाउँपालिका वडा न १ औराहाका प्रयाग महतोको घरबाट पशुबली दिईने र त्यसपछि सर्बसाधारणको लागि पशुबली चढाउन खुल्ला हुने उनले बताए ।
मेलामा शान्ति सुरक्षाको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्वयम्सेवकहरु परिचालन गरिने मेला व्यवस्थापन समितिले जनाएको छ । मेलामा नेपाल तथा भारतका लाखौ दर्शनार्थीहरु आउने गरेका छन् ।