Logo

४ मंसिर, जनकपुर । मधेश प्रदेश लोकसेवा आयोगको परीक्षा निष्पक्ष नभएको परीक्षार्थीले गुनासो गरेका छन् । २०७८ सालमा भएको कृषि इन्जिनियर सेवा समूहको सातौं तहको लिखित परीक्षामा परीक्षार्थीबीच विभेद भएको खुलेको छ ।

मधेश लोकसेवा आयोगले कृषि समूह कृषि इन्जिनियरको सातौ तहको लिखित परीक्षा २२ मंसिर २०७९ मा लिएको थियो । जनकपुरधामको जानकी मध्यमिक विद्यालयको दुईवटा कोठामा परीक्षा भएको थियो ।

केही परीक्षार्थीका अनुसार कोठा नं. एफ–४ मा लिइएको प्रथम पत्रको परीक्षामा क्याल्कुलेटर चलाउन अनुमति दिइएको थियो भने कोठा नं. एफ– ५ मा क्याल्कुलेटर चलाउने अनुमति दिइएको थिएन । त्यसै दिन दुई घण्टापछि भएको दोस्रो पत्रको परीक्षामा एफ–५ मा क्याल्कुलेटर चलाउने अनुमति दिइयो भने एफ– ४ मा दिइएन ।

एकै परीक्षा केन्द्रमा एकै सेवा समूहको लागि कसरी दुई आदेश भयो, साथै केन्दीय लोक सेवा आयोग तथा प्रदेश लोक सेवा आयोगको नियम तथा नामावली वमोजिम परीक्षा नभएको स्पस्ट देखिएको भन्दै परीक्षार्थीहरु आफूहरू मार्कामा परेको गुनासो गरेका छन् ।

एक पदको लागि भएको सो परीक्षाको नतिजा गत १० कात्तिकमा आयोगले प्रकाशित गरेको छ । जसमा सहभागी ११ जना सहभागी परीक्षार्थीमध्ये ३ जना सफल भएका छन् । गत कात्तिक २७ गते भएको अन्तर्वार्तामा एकजनाको नाम सिफारिस भएको छ ।

तीन महिनाअघि लोकसेवा आयोगका अध्यक्ष बनेका शिवराम यादव निवेदन परेपछि यो घटनाको विषयमा बुझ्दा परीक्षार्थीबाट कुनै प्रकारका निवेदन दर्ता नभएको बताए । उनले त्यसबेला नै परीक्षार्थीहरुले उजुरी दिएर अघि बढ्नुपर्नेमा दुई वर्षपछि प्रकाशित नतिजाको बेलामा निवेदन गर्नु भन्दा मिहिनेत गरेर आगामी परीक्षाको लागि तयारी गर्न परीक्षार्थीहरुलाई सुझाव दिए ।

केही परीक्षार्थीहरुले परीक्षा बदर नगरे मुद्दा लिएर अदालत जाने चेतावनी दिएका छन् ।


सम्बन्धित समाचार