१३ मंसिर,काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबीचको जनमतसंग्रह भएको बताएका छन् । बिहीबार कीर्तिपुरमा आयोजित चुनावीसभामा उनले न्यायको पक्षमा कीर्तिपुरवासीले फैसला गर्ने बताए ।
“जनता भ्रष्टाचारको पक्षमा छन् या भ्रष्टाचारका विरुद्ध छन् भन्ने फैसला गर्ने सर्वोच्च अदालत हो । मलाई विश्वास छ, नेपाली जनता भ्रष्टाचारका पक्षमा हुन सक्दैनन्, भ्रष्टाचारका विरुद्ध छन्,” उनले भने, “जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका पक्षमा छन् । हेर्दा उपचुनाव भए पनि यथार्थमा भ्रष्टाचारका पक्ष र विपक्षको जनतमसंग्रहजस्तै हो ।”
उनले माओवादीका तर्फबाट कीर्तिपुर नगरपालिकाको मेयर पदका उमेदवार रहेका शिवशरण महर्जन काममा विश्वास गर्ने व्यक्ति भएको बताए । भ्रष्टाचारमुक्त, नमुना कीर्तिपुर बनाउने महर्जनको प्रतिबद्धतामा पार्टीले हस्तक्षेप नगर्ने उनले उल्लेख गरे ।
उनले आफू सरकारमा हुँदा भ्रष्टारचारविरुद्धको अभियान सञ्चालन गर्ने क्रममा ठूलाहरूलाई कानुनीमा दायरामा ल्याएको बताए । वर्तमान सरकार गैरकानुनी र अप्राकृतिक भएको प्रचण्डको भनाइ छ ।
कीर्तिपुरसहितका स्थानीय तहका रिक्त पदका निम्ति यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।